तिलोत्तमामा एक लाख भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

पुस २८, २०७८ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ लाख भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ हजार ४ सय ६३ जनाले पूर्ण मात्रा खोप लगाइसकेको र बाँकीले खोपको पहिलो मात्रा लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

तिलोत्तमामा १८ वर्षमाथिको लक्षित जनसंख्या ८० हजार रहेको अनुमान गरिएकोमा पूरा डोज खोप लगाएको जनसंख्या ८७ हजार भन्दा बढी पुगेको छ । 

बसाईसराई गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारी लगायत विभिन्न अवसरका लागि अस्थायी रुपमा बस्ने बासिन्दाको कारण लक्षित भन्दा बढीले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताउनुभयो । 

नगरपालिकाले गरेको घरधुरी सर्वेक्षण अनुसार नगरको जनसंख्या १ लाख २३ हजार ८ सय ३६ छ । यहाँ १२ वर्षभन्दा माथिको जनसंख्या झण्डै ९९ हजार रहेको अनुमान छ ।

स्वास्थ्य शाखाका अनुसार कोभिसिल्ड/एक्सट्राजेनिक खोपको दुबै मात्र ८ हजार ९ सय ६० जना, जोनसोन एण्ड जोनसोन खोप ७ हजार ६ सय १० जनाले लगाएका छन् । 

यस्तै, भेरोसेलको दुबै डोज लगाउने संख्या ७० हजार ८ सय ९३ रहेको छ । १२ वर्षमाथि १८ वर्षसम्मका विद्यार्थीलाई लगाइएको मोडर्ना खोपको पहिलो मात्रा झण्डै १० हजार जनाले लगाएका छन् भने यो खोप लगाउने क्रम जारी छ । 

रोजगारी वा अध्ययनको लागि तेस्रो मुलुक जानेहरुको लागि वडा नं. ५ को सहरी स्वास्थ्य केन्द्रमा हरेक हप्ताको सोमबार कोरोना विरुद्धको जोनसोन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ । 

नगरपालिकाले खोप लगाउन छुटेका लक्षित समूहका नगरबासीलाई मणिग्रामस्थित वडा ५ को सहरी स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । 

अहिले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमा फैलिएको र यो विगतका भेरियन्ट भन्दा बढी संक्रामक भएको विज्ञहरुले बताएका छन् । 

नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोक्न पूर्व तयारी थालेको तिलोत्तमाले जनस्वास्थ्यका मापदण्ड अपनाउन, घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, भिडभाड नगर्न सम्पूर्ण नगरबासीमा अनुरोध गरेको छ । 

केही दिनअघि बसेको तिलोत्तमा नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्ने/गराउने निर्णय गरेको थियो । यस्तै, बुधबार विभिन्न सार्वजनिक स्थानहरुमा कोरोनाको नमूना संकलन तथा परीक्षण गरिएको छ ।


प्रतिक्रिया