रुपन्देहीको मर्चवारीका महिलालाई 'महिनावारी कप' वितरण

माघ १०, २०७८ | तिलोत्तमा

रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का महिलाहरुका लागि क्रिएटिङ पोसिबिलिटिज नेपाल नामक संस्थाले महिनावारी कप वितरण गरेको छ । सो संस्थाले एक कार्यक्रम गरी गाउँपालिकाका २ सय ५० जना महिलालाई महिनावारी कप वितरण गरेको हो । 

संस्थाका निर्देशक दिनेश सापकोटाले कान्तिपुर दैनिकमा प्रकाशित ‘महिनावारीमा टालोको भर’ शीर्षकको समाचार हेरी महिलाहरुको स्वास्थ्यलाई ख्याल गर्दै महिनावारीका समयमा टालो प्रयोग गर्दा हुने समस्या हटाउन कप सहयोगी हुने बताउनुभयो । 

यसअघि अन्य विभिन्न जिल्लाका महिलाहरुलाई पनि महिनावारी कप प्रदान गरिएको र यसले महिलाहरुका लागि सहज भएको प्रतिक्रिया आफूहरुले पाएको उहाँको भनाई छ । 

गाउंँपालिकाका अध्यक्ष केशवनन्द बानियाँले महिलाहरुका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीले उनीहरुलाई स्वस्थ र रोगमुक्त रहन सघाउने बताउनुभयो । गाउँपालिकाले महिलाहरुमा चेतना जगाउन र विद्यालयमा अध्ययनरत छात्राहरुलाई स्यानिटरी प्याडको बारे जानकारी गराईरहेको उहाँलको भनाई छ । 

‘गाउँपालिकाका महिलालाई प्याड उपलब्ध गराउने बजेट भएपनि विद्यालयमा अध्ययनरत छात्राहरुसम्मलाई सहयोग गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘क्रमैसँग महिलाहरुका लागि पनि सो सुविधा प्रदान गर्ने उद्देश्य छ ।’ 

महिनावारी कप सही ढंगले प्रयोग गरे वर्षौसम्म टिक्ने र प्रयोग गर्न सकिने क्रिएटिङ पोसिबिलिटिज नेपाल नामक संस्थाका निर्देशक सापकोटाले बताउनुभयो । 

महिनावारी कप प्रयोग गर्ने विधि सिकाई गाउँपालिकाकै एक स्वयंसेवीलाई तालिम दिने र दक्ष बनाई अन्य समयमा बाँकी रहेका महिलालाई समेत सेवा प्रदान गर्ने सो संस्थाले जनाएको छ । 

महिनावारी कप वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सहित अन्य जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य चौकीका प्रमुख लगायत स्थानीयको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया