प्राथमिकताका आधारमा सेवा प्रवाह गर्नुस् : खेलराज पाण्डे

मंसिर १६, २०७९ | तिलोत्तमा

रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले प्राथमिकताका आधारमा सेवा प्रवाह गर्न उपमहानगर भित्रका स्वास्थ्य संस्थालाई निर्देशन दिनु भएको छ । वृद्धवृद्धा, असहाय तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्न उहाँले उपमहानगर भित्रका स्वास्थ्य संस्थालाई निर्देशन दिनु भएको हो । 

बुटवल उपमहानगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिमको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले बुटवलभित्र कुन क्षेत्रमा कुन समस्याका बिरामी छन् त्यसको सम्पूर्ण विवरण आउने गरी काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो । 

सो विवरणका आधारमा उपमहानगरले आवश्यक कार्यक्रम एवं बजेट विनियोजन गरिने उहाँको भनाई छ । ६५ वर्ष कटेका वृद्धवृद्धालाई मासिक रुपमा घरमा पुगेरै सेवा दिने गरी योजना रहेकोले सोही अनुसार काम गर्नको लागि उहाँले आग्रह गर्नुभयो । 

उपप्रमुख साबित्रादेवी अर्यालले जनताको नजिक रहेर काम गर्ने व्यक्तिलाई यो तालिम आवश्यक रहेको भन्दै जनताका काम गर्दा हेलचेक्रयाँई नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले परिवर्तन भएको प्रणालीमा सबै डाटा राखेर सही सूचना उपलब्ध गराउन आग्रह गर्नुभयो । 

जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले स्वास्थ्य क्षेत्रमा गलत तथ्याङ्क हुँदा समस्या हुने भएकाले यो तालिम सुरु गरिएको बताउनुभयो । परिवर्तित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको बारेमा रिपोर्टिङ टुल्सको क्षमता अभिवृद्धि तालिम दिइएको उहाँको भनाई छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा, उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक कल्पना भुसाल, उपमहानगर नर्सिङ निरीक्षक प्रज्ञा भट्टराई लगायतले प्रशिक्षण दिनेछन् । 


प्रतिक्रिया