भारतमा कोरोना बढेसँगै सीमामा दैनिक १५० को स्क्रिनिङ

वीरगञ्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्क । फाइल तस्बिर : शंकर आचार्य/रेडियो कान्तिपुर  

पुस २१, २०७९ | पर्सा

भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि वीरगञ्ज नाकामा सर्तकता बढाइएको छ । वीरगञ्जस्थित नेपाल–भारत सीमामा रहेको हेल्थ डेस्कमा भारतबाट आउनेहरु स्क्रिनिङ तथा एन्टिजेन परीक्षण समेत बढाइएको छ । 

हेल्थ डेस्ककी प्रमुख डा.अनिशा महतोले साता यता भारतबाट आउनेहरु करीब ४ सय जनाको स्क्रिनिङ र १ सय ५० जनाको एन्टिजेन परीक्षण समेत गरिएको जानकारी दिनुभयो । ‘स्क्रिनिङ्ग गर्दा शरीरको तापक्रम जाच गरिन्छ,’ उहाँले भन्नुभयो, ‘उनीहरु बाहेकका शंकास्पद व्यक्तिहरुको एन्टिजेन परीक्षण गर्ने गरेका छौं ।’

तर हालसम्म एक जना पनि कोरोना पोजेटिभ नदेखिएको डा. महतोले जानकारी दिनुभये । हाल भारतमा छुट्टीसँगै पर्यटनको सिजन पनि भएकाले दैनिक ठूलो संख्यामा भारतीय पर्यटकहरु नेपाल भित्रि रहेको उहाँको भनाई छ । 

‘दिल्ली, कोलकाता आदि शहरबाट रेल चढेर दैनिक आउने बाहेक भारतको राजस्थान, इन्दौर, गया आदिबाट समेत भारतीय पर्यटकहरु बस रिजर्भ गरेरै नेपाल घुम्न आईरहेका छन्,’ डा. महतोले भन्नुभयो, ‘तर असोज महिनामा ३ जना कोरोना पोजेटिभ भेटिएपछि हालसम्म डेस्कमा एउटा पनि कोरोना पोजेटिभ भेटिएका छैनन् ।’ 

डेस्कमा हाल १२ हजार एन्टिजेन किट मौज्दात रहेकाले प्राविधिक समस्या नरहेको डा महतोको भनाई छ । ‘एउटा पनि कोरोना पोजेटिभको केस नदेखिएपछि हामी हाल रहेको परीक्षणको दायरालाई अझै बढाउने छौं,’ उहाँले भन्नुभयो, ‘त्यस्तो अवस्थामा किटको खपत बढन सक्छ, त्यस कारण पनि हामी किटको मौज्दात अझै बढाउने प्रयासमा छौं ।’

 वीरगञ्ज महानगरपालिकाको कार्यालयलाई पत्राचार गरी थप ९ हजार किटको माग गरिएको डा महतोले जानकारी दिनुभयो । ‘माग गरे अनुरुप किट प्राप्त भई दिए सहज हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘पछि त्यसको अभाव झेल्नु पर्नेछैन ।’


प्रतिक्रिया