कोरोना संक्रमण जोखिम बढेसँगै सावधानी अपनाउन आग्रह

चैत्र १८, २०७९ | काठमाडौं

मुलुकका पश्चिमी क्षेत्रबाट प्रवेश गर्नेहरुबाट कोरोना संक्रमण जोखिम बढेको भन्दै सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय सीमा नाकाबाट नेपालमा प्रवेश गर्नेहरुबाट कोरोना संक्रमण जोखिम हुने गरेको पाइएको मन्त्रालका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताउनुभयो । संक्रमण जोखिम बढेसँगै सीमा नाकामा निगरानी बढाइएको डा. अधिकारीको भनाई छ । 

यसैबीच कोरोना संक्रमणबाट स्वास्थ्यमा पुग्ने असर कम गर्नका लागि बुस्टर डोजको खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । बुस्टरको रुपमा तेस्रो खोप नलगाएका व्यक्तिले सम्बन्धित स्थानीय तहको स्वास्थ्य संस्थामा खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ । तेस्रो खोप लगाइसकेका व्यक्तिका लागि भने बुस्टर खोप आवश्यक नभएको डा. अधिकारीले बताउनुभयो । यसैबीच, पछिल्लो समय सुदुरपश्चिम प्रदेशमा भारतबाट फर्कनेहरुको संख्या समेत बढ्दै गएको पाइएको छ । 

नयाँ वर्षको अवसरमा सुदुरपश्चिम प्रदेशमा मनाइने विशु पर्वका लागि भारतबाट दैनिक करिब ४ सयको हाराहारीमा नेपालीहरु घर फर्कने गरको हाम्रा सहकर्मी चित्रांग थापाले जनाएका छन् । उनीहरु मध्ये संक्रमणको शंकास्पद लक्षण भएकालाई निगरानी बढाइएको पाइएको छ । 

 यस्तै, पछिल्लो पटक थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि झएको छ । योसँगै सक्रिय संत्रमित संख्या १ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया