आम्दा अस्पतालको स्तरवृद्धिका लागि बुटवलको टोली जापानमा

जेष्ठ १५, २०८० | रुपन्देही

रुपन्देहीको बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा र एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया आम्दा इन्टरनेश्नल जापानबीच स्तरवृद्धि सम्बन्धी समझदारी हुनेभएको छ । स्तरवृद्धि सम्बन्धी सम्झौताका लागि आम्दा अस्पताल बुटवलका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय नेतृत्वको टोलीले जापान प्रस्थान गरेको छ ।

सो अवसरमा आम्दा अस्पतालको स्तरवृद्धि गरी ३ सय शय्यामा पुर्‍याउने समझदारी हुनेछ । जापानको आम्दा इन्टरनेश्नलका अध्यक्ष डा शिगेरु सुगानामीको निमन्त्रणामा उपमहानगर प्रमुख पाण्डे नेतृत्वको टोली जापान गएको हो । जापानमा आम्दा अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य सुविधा लगायत विषयमा सहकार्यका बारेमा समझदारी हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

आम्दा इन्टरनेशनलका अध्यक्ष सुगानामीको उपस्थितिमा गत असोजमा बुटवलमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको र सोही अनुसार समझदारी गर्ने उपमहानगरले जनाएको छ । 


प्रतिक्रिया