पर्सालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणामा ढिलाई

असार १२, २०८० | पर्सा

स्थानीय तहको निष्कृयताको कारण पर्सालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणामा ढिलाई भएको सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको पूर्ण खोपको सुनिश्चितता तथा सरसफाइ प्रवर्द्धनको लागि रणनीति तयारी तथा सूक्ष्म योजना अद्यावधिक गोष्ठीको समापन समारोहमा उनीहरुले पर्सालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणामा ढिलाई भएको प्रति चिन्ता व्यक्त गरे । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत जयमोद ठाकुरले स्थानीय तहका प्रमुख र कार्यकारी अधिकृतबीच तालमेल नमिल्दा समस्या भईरहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहले कुल १४ मध्ये ४ वटा स्थानीय तहको कारण पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुन नसकेको बताउनुभयो । बिन्दवासिनी, कालिकामाई, धोबिनी र पकाहामैनपुर गाउँपालिका अझै पूर्ण खोप घोषणा हुन सकेको छैन । पर्सामा २०७३ वैशाखबाट यो अभियान थालिएको थियो । लक्ष्य अनुसार सन् २०१७ भित्रै जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरी सक्नुपर्थ्यो । तर, त्यस अवधिमा पनि हुन नसकेपछि पटक पटक म्याद थप्दै काम भईरहेको छ ।


प्रतिक्रिया