‘अभिभावककै लापरवाहीले तराईका बालबालिकामा कुपोषण’

भाद्र ८, २०८०

चेतनाको कमी र अभिभावककै लापरवाहीका कारण तराईका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । आर्थिक रुपले सम्पन्न र मध्यम वर्षका परिवारका बालबालिकामा पनि कुपोषणको समस्या देखिएको वीरगञ्जस्थित पोषण पुर्नस्थापना गृहले जनाएको छ । गृहकी कार्यक्रम व्यवस्थापक सरिता यादवले कतिपय परिवारमा केही वर्ष अघि बालबालिकामा कुपोषण देखिएकोमा हाल आएर फेरि अन्य बालबालिकामा पनि कुपोषणकै समस्या देखिनु अभिभावकको लापरवाही भएको बताउनुभयो ।

सन् २००६ को मे १४ बाट सञ्चालनमा आएको गृहमा गत असार मसान्तसम्ममा ३ हजार २४ कुपोषित बालबालिका उपचारका लागि भर्ना भई सकेका छन् । ती मध्ये १ हजार ६ सय २३ बालक र १ हजार ४ सय १ बालिका छन् । कूल मध्ये ६ महिना उमेर समूहसम्मका २ सय ६६, ६ देखि २४ महिना उमेर समूहका १ हजार ८ सय ४४, २५ देखि ६० महिना उमेर समूहका ७ सय र त्यस माथिका २ सय १४ बालबालिका छन् ।

३ हजार २४ मध्ये पर्साका मात्रै १ हजार ७ सय ३०, बाराका ८ सय ७९, रौतहटका १ सय ८६, सर्लाहीका ४४, महोत्तरीका ११, मकवानपुरका ७, धनुषा, चितवन र झापाका २/२ र भारतका १ सय ६१ छन् । उपचार गरिएका मध्ये २ सय ५ लाई साधारण, ५ सय २० लाई मध्यम र २ हजार २ सय ९९ लाई कडा खालको कुपोषण भएको थियो । यस अवधिमा गृहमा उपचार गरिएका ११ कुपोषित बालबालिकाको मृत्यु समेत भएको छ । 


प्रतिक्रिया