डेंगी संक्रमणबाट कञ्चनपुरमा एकको मृत्यु

भाद्र १२, २०८० | कञ्चनपुर

डेंगी संक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिकाका एक जनाको मृत्यु भएको छ । डेंगी संक्रमण भएपछि कैलालीको धनगढीस्थित नोभा अस्पतालमा उपचाररत उनको २८ वर्षीय हिक्मत बहादुर खत्रीको मृत्यु भएको हो । 

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहोराका अनुसार खत्री केही दिनअघि मात्रै भारतबाट घर आएका थिए । उनलाई ज्वरो आएपछि आइतबार धनगढीस्थित नोभा अस्पताल भर्ना गरिएको हो । 

उपचारकै क्रममा हिजो उनको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख बोहोराले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बेलौरीमा डेंगी संक्रमण देखिएको यो पहिलो केश हो । जिल्लामा हालसम्म ७२ जनामा संक्रमण देखिएको छ ।

सबैभन्दा बढी भीमदत्त नगरपालिकामा ५४, महेन्द्रनगरस्थित मन्त्र हस्पिटलमा ११, दोधारा चाँदनी र पुनर्वास नगरपालिकामा २/२ तथा बेदकोट र कृष्णपुर नगरपालिकामा १/१ जनामा संक्तमण देखिएको छ । 


प्रतिक्रिया