१०३ प्रकारका औषधिको प्रयोग नगर्न विभागको आग्रह

आश्विन १, २०८० | काठमाडौं

औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई आग्रह गरेको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै एक सय तीन प्रकारका एन्टीबायोटिक औषधिको प्रयोग नगर्न सबैमा आग्रह गरेको हो । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले एन्टीबायोटिकको प्रयोगलाई न्यूनिकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । ती औषधिको प्रयोग गर्नुको कुनै औचित्य नभएको समेत विभागको दाबी छ । डब्लूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका प्रति जैविक औषधिको सूची प्रकाशन गरेको भन्दै ढकालले ती औषधि प्रयोगमा प्रतिबन्ध लगाइने बताउनुभयो ।

विभागका महानिर्देशक ढकालका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधि भने विभागमा दर्ता गरिएका छन् । एन्टीबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न / नगराउन निर्देशन दिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया