‘वीरगञ्जका मुसहर समुदाय अझै स्वास्थ्य सेवाबाट वञ्चित’

जेष्ठ १७, २०८१ | पर्सा

पर्साको वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका मुसहर समुदाय स्वास्थ्य सेवाबाट वञ्चित रहेको एक अध्ययनले देखाएको छ । 

वीरगञ्जमा बुधबार सम्पन्न मानव केन्द्रित ढाँचा तथा द्रुत लेखाजोखा सम्बन्धी सह–श्रृजना कार्यशालाको समापन समारोहमा सार्वजनिक गरिएको तथ्यांकले मुसहर समुदाय स्वास्थ्य सेवाबाट वञ्चित रहेको देखाएको हो । 

युनिसेफको सहयोगमा वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका वडा नम्बर २२, २८ र ३२ को १ सय ७४ मुसहर घरधुरीमा गरेको स्थलगत सर्भेले यो समुदाय अझै पनि तुलनात्मक रुपमा अन्य समुदाय भन्दा स्वास्थ्य सेवा सुविधाको पहुँचबाट टाढा रहेको पाइएको छ । 

कार्यक्रममा युनिसेफ नेपालका प्रतिनिधि एवम् सामाजिक व्यवहार परीवर्तन सम्बन्धी विज्ञ लिला खनालले सर्भेले यी वडाका मुसहर समुदायमा औसत विवाह उमेर १७ दशमलव २ प्रतिशत, बच्चा जन्माउने औसत उमेर १९ वर्ष रहेको देखाएको बताउनुभयो । 

उहाँका अनुसार समुदायमा बालविवाह दर ८० प्रतिशत, किशोरी गर्भवती दर ५१ प्रतिशत, संस्थागत सुत्केरी हुने दर ५५ प्रतिशत र घरमा खोप कार्ड नभेटिएको दर ४८ प्रतिशत रहेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मुसहर समुदायको स्तरोन्नतिको लागि स्वास्थ्य मात्र नभई शिक्षाको क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्नुभयो । 

मुसहर समुदायका बालबालिका तथा युवाहरुलाई खेलकुद क्षेत्रसँग जोडेर शिक्षातर्फ आकर्षित गर्न सकिने उहाँको सुझाव थियो । महानगर प्रमुख सिंहले परिवर्तन सम्भव रहेपनि त्यसका लागि सरोकारवाला सम्पूर्णको साथ र सहकार्य आवश्यक रहेको बताउनुभयो । 

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा.मुक्तिनारायण साहले मुसहर समुदायको उन्नयनको लागि तीनै तहको सराकारको सहकार्यको आवश्यकता औंल्याउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारबाटै यो समुदायको स्तर उकासिने उहाँको भनाई छ । 

कार्यक्रममा मुसहर समुदायको स्तरोन्नतिका लागि नीतिगत सुझाव समेत दिइएको थियो । जसमा यो समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, जन्मदर्ता, नागरिकता र लालपुर्जाको सुनिश्चित, सर्वसुलभ स्वास्थ्य सेवा पहुँचको लागि निजी अस्पतालहरुसँग समन्वय र सहकार्य गर्ने, निःशुल्क एम्बुलेन्स सेवा, शौचालय, खानेपानी र ढलको व्यवस्था गर्ने आदि रहेको छ । 


प्रतिक्रिया