डेंगी नियन्त्रण गर्न वीरगञ्जमा आजदेखि विशेष अभियान चलाईंदै

असार १२, २०८१ | पर्सा

पर्सास्थित जिल्ला स्वास्थ्य कार्यालयले आजदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको संक्रमण रोकथामका लागि अभियान सञ्चालन गर्ने गर्दैछ । 

जिल्ला स्वास्थ्य कार्यालयले वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा डेंगी संक्रमण रोकथामका लागि वडा नम्बर १ देखि १६ सम्म विशेष अभियान सञ्चालन गर्न लागेको हो । 

स्वास्थ्य कार्यालयले मंगलबार वीरगञ्जमा आयोजना गरेको डेंगी, मलेरिया, कालाजार, जीका, इन्सेफ्लाइटिस बायोलार्भिसाइट नियन्त्रण बारे अभिमुखीकरण कार्यक्रममा महानगर क्षेत्रमा बुधबारदेखि डेंगी संक्रमण रोकथामका लागि अभियान चलाउने निर्णय गरेको हो । 

बुधबारदेखि स्थलगत रुपमा स्वयम्सेविकाहरु परिचालन भई जनचेतनामूलक गतिविधि सन्चालन गर्ने निर्णय भएको बैठकले गरेको छ । साथै लामखुट्टे तथा अन्य परजीवी नियन्त्रणका लागि बायोलार्भिसाइट छर्ने पनि निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत जयमोद ठाकुरले बताउनुभयो । 

महानगरको शहरी तथा घना बस्तीमा विगतका वर्षमा डेंगी संक्रमण व्यापक रुपमा देखिएको छ । यस वर्ष डेंगीको संक्रमण फैलिन नदिन सुरुमै सर्तकता अपनाइएको स्वास्थ्य कार्यालयका खोप अधिकृत ठाकुरले बताउनुभयो । 

उहाँका अनुसार गत चैतयता बिन्दवासिनीमा १, ठोरी गाउँपालिकामा १ र वीरगञ्ज महानगरपालिकामा ७ गरी ९ जनामा डेंगी संक्रमण देखिएको छ । 

महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाले संक्रमणको रोकथामका लागि १६ वटै वडामा आजैदेखि विशेष अभियान सञ्चालन गरिने बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मुक्तिनारायण साहले सहरी क्षेत्रमा स्वास्थ्य अभियान सफल पार्न महिला स्वयम्सेविकाहरुको उल्लेखनीय भूमिका रहने बताउनुभयो । 

अभियान सफल बनाउन चुनौती रहेपनि स्वयम्सेविकाहरुको प्रयासले सफलता मिल्नेमा आफू विश्वस्त रहेको डा. श्रेष्ठको भनाई छ । कार्यक्रममा ४५ महिला स्वयम्सेविकाको सहभागिता थियो । 


प्रतिक्रिया