सल्यानको श्रीनगरका दुई मेडिकलमा सिलबन्दी

असार १५, २०८१ | सल्यान

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालको मेडिकल र मोडेल मेडिकल हलमा सिलबन्दी गरिएको छ । अनुगमनका क्रममा बिक्री गर्न नमिल्ने तथा ड्रग्सको रुपमा प्रयोग गरिने औषधि गैरकानूनी रुपमा बिक्री गर्नका लागि राखिएको भेटिएको र औषधि बिक्री गर्ने आधिकारिक फर्मासिस्ट नराखी मनपरी बिक्री गरेको पाइएपछि दुई मेडिकलमा सिलबन्दी गरिएको हो । 

सर्वसाधारणको गुनासोपछि बाँकेको नेपालगञ्जस्थित औषधि ब्यवस्था विभाग शाखा कार्यालय, जिल्ला प्रशासन कार्यालय सल्यान, शारदा नगरपालिका सल्यान, उद्योग वाणिज्य संघको संयुक्त रुपमा अनुगमन गरेको थियो । 

दुई साता अघि जिल्ला प्रशासन तथा उद्योग विकास कार्यालयले अनुगमन गर्दा विभिन्न किसिमका कैफियत भेटिएपछि औषधि ब्यवस्था विभागको नेपालगञ्ज शाखाको टोलीले अनुगमन गरेको थियो । 

अनुगमनमा प्रतिबन्धित औषधि बिक्री गरिरहेको भेटिएको शाखा कार्यालयका फार्मेसी निरीक्षक दिपेन्द्र कुमार शाहले बताउनुभयो । बिक्री गर्न प्रतिबन्ध लगाएका औषधि विभागमा पेस गर्ने र विभागीय निर्णय अनुसार कारवाही गरिने उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘विभागीय कारबाही अन्तर्गत दुबै मेसिकल सिलबन्दी मात्र नभई पूर्ण रुपमा बन्द पनि हुन सक्छन ।’ अनुगमन गर्दा धेरै कैफियत देखिएपछि ती मोडेल मेडिकललाई २० हजार र एभरेष्ट मेडिकल हललाई ५ हजार रुपैयाँ जरिवाना समेत गरेको उहाँको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले सर्वसाधारणको गुनासोपछि श्रीनगरस्थित खैराबाङ्गी पेट्रोलपम्प र शारदा आयल स्टोरमा पनि अगुनमन गरिएको बताउनुभयो । दुबैलाई जनही ३० हजार रुपैयाँ जरिवाना गरिएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया