निःशुल्क स्वास्थ्य जाँच गर्न गोविन्द केसी रोल्पामा

रोल्पाको लिबाङमा सोमबार बिरामी जाँच गर्दै सत्याग्रही चिकित्सक डा. गोविन्द केसी । तस्बिरः काशीराम डाँगी÷रेडियो कान्तिपुर  

श्रावण १४, २०८१ | रोल्पा

सत्याग्रही चिकित्सक डा. गोविन्द केसी रोल्पामा आइपुग्नुभएको छ । केसीले चार दिनसम्म रोल्पा अस्पतालमा निःशुल्क बिरामी जाँच्नुहुनेछ । केसीले बुधबारसम्म रोल्पा अस्पतालबाट चिकित्सकीय विशेषज्ञ सेवा प्रदान गर्ने रोल्पा अस्पतालले जनाएको छ ।

सोमबार दिउँसो रोल्पा सदरमुकाम लिबाङमा आइपुगेका डा. केसीले हाड भाँचिएको, हड्डी खिइएको, नसा च्यापिएको, ढाड कम्मर दुखेको, युरिक एसिड, बाथ रोग र हाड जोर्नी समस्या र हाड खुट्टा पोल्ने लगायत समस्याका बिरामीको स्वास्थ्य अवस्था जाँच्न सुरु गर्नुभएको हो । केसीलाई चार दिनसम्म बिरामी जाँच्ने प्रबन्ध मिलाइएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताउनुभयो ।

 

रोल्पाको लिबाङमा सोमबार बिरामी जाँच गर्दै सत्याग्रही चिकित्सक डा. गोविन्द केसी । तस्बिरः काशीराम डाँगी÷रेडियो कान्तिपुर

लामो समय काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत रही अवकाशप्राप्त डा. केसीले दुर्गम जिल्लाका अस्पतालमा पुगेर बिरामी जाँच्ने गर्दै आउनुभएको छ । सेवाबाट अवकाश भए लगत्तै पश्चिम नेपालका दर्जनौं दुर्गम जिल्लाका अस्पतालमा पुगेर बिरामी जाँचेका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीले नेपालको स्वास्थ्य अवस्था सुधार गर्न भन्दै पटक पटक अनसन समेत बसिसक्नुभएको छ ।

रोल्पामा चार दिनसम्म डा. केसीले निःशुल्क आफ्नो विशेषज्ञ सेवा प्रदान गर्नुहुनेछ । अस्पतालका अनुसार डा. केसीले आफूले विनाशुल्क बिरामी जाँचेपनि अस्पतालले नै औषधि दिनुपर्ने छ । डा. केसीले यसअघि पनि रोल्पामा आएर बिरामी जाँचीसक्नुभएको छ । डा केसी रोल्पामा आउने सूचनापछि रोल्पा लगायत छिमेकी जिल्लाबाट बिरामीहरु अस्पतालमा आउन थालेका छन् ।


प्रतिक्रिया