सिद्धार्थनगर सीटी अस्पतालमा मुटुरोगको विशेषज्ञ उपचार सुरु
भाद्र १, २०८१ | भैरहवा
रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सीटी अस्पतालले शनिबारबाट मुटु रोगको विशेषज्ञ उपचार सेवा सुरुवात गरेको छ । भैरहवा र आसपासबाट हृदय सम्बन्धी रोगको उपचारका लागि बुटवल र काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्यका लागि अस्पतालले विशेषज्ञ चिकित्सकीय सेवासहित मुटुरोग विभाग सञ्चालनमा ल्याएको हो ।
अस्पताल भवनको पहिलो तलामा स्थापना गरिएको विभागको शनिबार बिहान मायादेवी गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले उदघाटन गर्नुभयो । यसअघि बालरोग, गाइनो, मिर्गौला, न्युरो सर्जरी लगायत विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले स्थानीय बासिन्दाको माग बमोजिम मुटुरोग विभाग स्थापना गरेको जनाएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले ७ वर्षअघि मायादेवी–८, स्थित एयरपोर्ट रोडमा अस्पताल भवनको शिलान्यासका क्रममा व्यक्त गरेको प्रतिवद्धता अनुसार मुटुरोग विभाग सञ्चालनमा ल्याइएको बताउनुभयो । ‘अत्यन्त संवेदनशील सेवा भएकाले केही ढिलो भयो,’ उहाँले भन्नुभयो, ‘अहिले उच्चस्तरीय उपकरण जडान गरेर सेवा सुरुवात गरेका छौं ।’ मुटुरोग परीक्षण र उपचारका लागि जरुरी इको, इसीजी, टीडीयू, सीसीयूका उपकरणसँगै र आधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
अस्पतालले नयाँ विभागमा बंगलादेशको ढाकामा अध्ययन गरेका मुटुरोग विशेषज्ञ चिकित्सक सूधीरप्रसाद शाहको नेतृत्वमा उपचार सेवा प्रदान गरिने जनाएको छ ।
अनुभवी चिकित्सक र नर्सिङ समूह बनाएर सेवा सञ्चालनमा ल्याएकाले सर्वसाधरणले गुणस्तरीय सेवा प्राप्त गर्ने अस्पतालका प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो। ‘पोलिक्लिनिकबाट सेवा सुरु गरेका थियौं,’ उद्घाटन कार्यक्रममा पौडेलले भन्नुभयो, ‘नागरिक समाज, व्यवसायी र दक्ष चिकित्सकको मद्दतले अहिले सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न सफल भयौं ।’