बुटवल उपमहानगरले मंगलबारदेखि एचपीभी लगाउने
माघ २१, २०८१ | तिलोत्तमा
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्घको (एचपीभी) खोप लगाउने भएको छ ।
बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरी ८३ वटा खोप केन्द्रबाट माघ २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।
बुटवल भित्रका ७० वटा विद्यालय, १२ वटा स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा खोप अभियानपछि छुटेकालाई आम्दा अस्पताल बुटवलमा माघ २८ र २९ गते दुई दिन खोप लगाइने उहाँले जानकारी दिनुभयो ।
संघीय सरकारले अभियानका रुपमा सञ्चालन गरेको खोप कार्यक्रम मार्फत बुटवलका १० हजार किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
अभियान अन्तर्गत विद्यालय जाने ९ हजार ८ सय १४ तथा विद्यालय बाहिर रहेका १४७ जना किशोरीको तथ्याङ्क संकलन गरी खोप सञ्चालन गर्न लागिएको हो । एचपीभी खोपलाई प्रभावकारी बनाउन विद्यालय, स्वास्थ्य स्वयम्सेविका तथा सरोकारवाला पक्षसँग छलफल तथा अभिमुकीकरणका कार्यक्रम गरिएको उपमहानगरले जनाएको छ ।
बुटवलमा खोप अभियानका लागि १ सय ७२ जना स्वास्थ्य स्वयम्सेविका, विद्यालयका शिक्षिका तथा नर्स ७० जनालाई प्रशिक्षित गरिएको खोप फोकल पर्सन कल्पना भुसालले बताउनुभयो । त्यस्तै ४६ जना स्वास्थ्यकर्मी समेत खोपका लागि परिचालन गरिने भएको छ ।
जिल्लाकै ओमसतिया गाउँपालिकामा फागुन १ गतेदेखि एचपीभी खोप लगाइने भएको छ । आइतबार पालिकामा आयोजित सरोकारवालासँग खोप बारेको अन्तरक्रिया कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ज्ञवालीले हरेक विद्यालयलाई खोप केन्द्र बनाई विद्यालय जाने १ हजार २ सय ६५ छात्रालाई खोप लगाइने जानकारी दिनुभयो ।
त्यस्तै, विद्यालय बाहिरका किशोरीलाई पनि खोप केन्द्रसम्म ल्याएर कसरी खोप लगाउन सकिन्छ भन्नेबारे छलफल गरिरहेको उहाँको भनाई छ । सो पालिकामा खोप लगाउनका लागि ६२ जना स्वास्थ्यकर्मी खटिने छन् । खोप अभियान पश्चात महिलाका लागि पाठेघर स्क्रिनिङको व्यवस्था गरी स्वास्थ्य प्रति सचेत गराइने गाउँपालिकाले जनाएको छ ।