तिलोत्तमाका करीब ९ हजार किशोरीलाई एचपीभी खोप लगाइने

माघ २९, २०८१ | तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करीब ९ हजार किशोरीहरुलाई पाठेघरको मुखको क्यानसरविरुद्धको एचपीभी खोप लगाउने भएको छ । नगरपालिकाले फागुन एकदेखि ६ गतेसम्म ८ हजार ६२५ जना किशोरीहरुलाई लक्षित गरी सो खोप अभियान सञ्चालन गर्ने जनाएको छ । 

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपीभी खोप लगाइने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ज्ञानप्रसाद पौडेलले बताउनुभयो । 

उहाँका अनुसार पालिकाभित्रका ७० वटा विद्यालयमा खोप केन्द्र तोकिएको छ । खोप अभियान प्रभावकारी रुपमा सञ्चालनका लागि ३४ खोप स्वास्थ्यकर्मी, ६८ जना स्वयम्सेवक र १८ जना अनुगमनकर्ता खटिने छन् ।

नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले पाठेघरको मुखको क्यानसरविरुद्धको एचपीभी खोप सुरक्षित रहेको बताउनुभयो । खोपको विषयमा अफवाह फैलाउने काम भएको भन्दै उहाँले अभियानमा सहभागी हुन उमेर समूहका सबै किशोरीहरुलाई आग्रह समेत गर्नुभयो । 

सोमबार नगरपालिकामा आयोजित एचपीभी खोपबारे अन्तरक्रिया कार्यक्रममा उपप्रमुख चौधरीले महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै यसअघि पाठेघरको निशुल्क स्क्रिनिङको काम सम्पन्न गरिएको जानकारी दिईन् । ‘हामीले यसअघि महिलाहरुलाई लक्षित गरी सबै वडामा निशुल्क स्क्रिनिङ अभियान सफलतापूर्वक सम्पन्न गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘त्यस क्रममा धेरै केसहरु देखियो, महिला दिदीबहिनीले हेलचेक्रयाँई नगरी यो खोप अभियानमा आफ्ना छोरी र छिमेकी सबै बालिकालाई सहभागी गराउन अनुरोध गर्दछु ।’ 

उपप्रमुख चौधरीले नगरपालिकाले महिलाको स्वास्थ्यका विषयमा छलफल एवम् कार्यक्रम गरिरहेकाले यसको लाभ लिन सबै महिलाले नजिकका स्वास्थ्य संस्थामा गएर बुझ्ने गर्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया