अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

वैशाख १२, २०८२
आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै आन्दोलरत चिकित्सकले आज देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेजमा ओपीडी सेवा बन्द गरिएको हो ।
संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आकस्मिक बाहेकका सेवा बन्द गर्न अपिल गर्नुभएको थियो । ओपीडी सेवा बन्द भएपछि उपचारका लागि पुगेका बिरामी भने फर्कन बाध्य भएका थिए । संघले भोलि पनि विरोध कार्यक्रमलाई निरन्तरता दिँदै प्रदर्शन गर्ने जनाएको छ । आवासीय चिकित्सक एक महिनादेखि निर्वाह भत्ताको माग गर्दै विरोधमा उत्रिएका हुन् ।