विदेशमा थप २१ गैरआवासीय नेपालीको मृत्यु

आश्विन ११, २०७७ | काठमाडौं

विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विभिन्न मितिमा विदेशमा रहेका थप २१ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान जाने नेपालीको संख्या २ सय ६५ पुगेको छ । ती विभिन्न १७ मुलुकमा रहेका नेपाली हुन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका हुन् । ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरोना भाइरसकै कारण नेपाल सहित विश्वभर छरिएका नेपाली मध्य ७ सय ३२ जनाको निधन भएको छ । यस्तै विश्वभर १ लाख १० हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

हावाबाट कोरोना सर्दैन

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ । समितिका संयोजक डा. संजीव सापकोटाले भन्नुभया,े ‘दुई मिटर (६ फिट) सम्मको दुरीमा एक अर्काका कोरोना भाइरस गर्दैन् । कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।’ स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन (फेस कभर) गर्न आग्रह गरेको छ । कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।

चीनबाट कोरोना भाइरसको संक्रमण भए लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड १९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको कोभिड १९ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो । संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ साता देखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।  


प्रतिक्रिया