अस्ट्रेलियाले नेपाललाई ३५ मिलियन डलर सहयोग दिने

असार ८, २०८१ | अस्ट्रेलिया

अस्ट्रेलिया सरकारले नेपालको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सन् २०२४/२५ का लागि ३५ मिलियन अस्ट्रेलियन डलर अर्थात करीब ३ अर्ब नेपाली रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । 

अस्ट्रेलियाका टे«जरर जीम चाल्मरले केही दिनअघि सार्वजनिक गरेको संघीय बजेटमा सो घोषणा गरिएको हो । अस्ट्रेलियाले हरेक वर्ष आफ्नो संघीय बजेटमा विकासोन्मुख मुलुकलाई आर्थिक सहयोग दिँदै आएको छ । 

अस्ट्रेलियाले आफ्नो (अफिसियल डेभलपमेन्ट एसिस्टेन्स) ओडिए अन्तर्गत प्रदान गर्ने सहयोग मुख्य गरेर एसियाली मुलुकका साथै प्यासिफिक क्षेत्रका देशको विकासमा लक्षित गर्ने गरेको छ । 

नेपाललाई अस्ट्रेलियाले प्रत्यक्ष सहयोग अन्तर्गत ९ दशमलव १ मिलियन डलर दिने उल्लेख गरेको छ । यस्तै, ओडीए अन्तर्गत २६ दशमलव १ मिलियन डलर सहयोग गरिने घोषणा गरेको अस्ट्रेलिया सहकर्मी नारायण खड्काले जनाएका छन् । 

अस्ट्रेलियाले हरेक वर्ष आफूले दिएको सहयोगको उचित ब्यवस्थापन, सदुपयोग लगायत विषयको अध्ययन गरी सहयोग रकम तय गर्ने गरेको छ । 

अस्ट्रेलियाको विदेश विभागका अनुसार स्वास्थ्य सुरक्षा, स्थायित्व तथा आर्थिक उन्नतिलाई मुख्य आधार बनाएर आर्थिक सहयोग उपलब्ध गराउँदै आएको हो । 


प्रतिक्रिया