गैरआवासीय नेपाली संघ एसिया प्रशान्त ९ औं क्षेत्रीय सम्मेलन सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

भाद्र १२, २०७९ | काठमाडौं

गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय, विज्ञ तथा महिला सम्मेलन थाईल्याण्डको राजधानी बैंककमा सम्पन्न भएको छ । दोस्रो विश्वयुद्धको समय देखि म्यानमार, मलेसिया, थाइल्यान्ड, सिंगापुर, फिजी लगायतका देशहरुमा रहेका करिव ६ लाख नेपाली मूलका पिएनओ (पिपल अफ नेपाली ओरजिन) हरुलाई आर्थिक, सामाजिक तथा साास्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली परिचयपत्रको व्यवस्था गर्न सम्मेलनमार्फत संघले नेपाल सरकारसँग अनुरोध गरेको छ  ।

यस्तै,गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्नको लागि आवश्यक कानुनहरुलाई समयाअनुकुल परिमार्जित गर्दै गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहलका लागि पनि संघले आग्रह गरेको छ ।

संघले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानुन निर्माणका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीले सम्बन्धित विदेशस्थित नेपाली कूटनीतिक नियोग वा अनलाईन मार्फत मतदाता नामावली दर्ता एवं मतदान गर्ने तथा राष्ट्रिय परिचयपत्रसमेत बनाउन सक्ने व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

 यस्तै, हाल वैदेशिक रोजगारमा रहेका नेपालीलाई, सामाजिक सुरक्षामा आवद्ध गराउन, वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको ज्ञान, सीप, प्रविधि र अनुभव नेपालको सर्बाङ्गिण विकासमा योगदान हुने गरी प्रयोग गर्न, रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल पठाउने व्यवस्था मिलाउन र स–साना लगानी गर्न सक्ने नेपालीहरुलाई सामुहिक लगानीमा आवद्ध गराउनका लागि नेपाल सरकारसहितको संलग्नतामा सञ्चालन गर्न लागिएको १० अर्बको लगानी कोष संचालनमा आवश्यक कानून परिमार्जन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।

 नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शेरबहादुर कुंवरको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा ३० देशका तिन सय जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया