नेपाल फर्किएका कामदारको पुन:एकीकरणका लागि जारी कार्यक्रम अपर्याप्त

आश्विन १७, २०७७ | काठमाडौं

वैदेशिक रोजगार बोर्डले कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीबाट फर्किएका कामदारको पुन:एकीकरणका लागि हाल भइरहेका कार्यक्रम पर्याप्त नभएको जनाएको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बोर्डले हाल सञ्चालन गर्दै आएका पुन:एकीकरणको कार्यक्रम सामान्य अवस्थाका लागि भएको भन्दै कोरोना महामारी जस्तो विश्वव्यापी संक्रमणको अवस्थामा विदेशबाट फर्किने नेपाली कामदारलाई बोर्डबाट सञ्चालन हुने पुन:एकीकरणको कार्यक्रम पर्याप्त नहुने बताउनुभएको हो । 

गत असोज ५ गते बसेको बोर्डको बैठकले पुन:एकीकरणको कार्यक्रम तय गरेर नीतिगत सहमतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको बताउँदै श्रेष्ठले मन्त्रालयबाट सो स्वीकृत भएपछि सानो आकारमा भएपनि पुन:एकीकरणको कार्यक्रम कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो । पहिलो चरणमा पुन:एकीकरणको नीतिगत परिभाषामा नै समस्या भएको भन्दै सामाजिक तथा पारिवारिक पुनर्मिलन, आर्थिक तथा रोजगारी र मानसिक पक्ष समग्र विषयमा स्पष्ट परिभाषा गरिनुपर्ने श्रेष्ठको भनाई छ । 

स्वदेश फर्किएका कामदारको एकीकृत तथ्यांक संकलन अहिले सबैभन्दा ठूलो समस्याको रुपमा रहेकोले पनि पहिलो प्राथमिकता त्यसकै लागि दिइएको श्रेष्ठको भनाई छ । यसैबीच बोर्डले विदेशबाट नेपाल ल्याएका शव व्यवस्थापन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन करीब साढे १७ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । पछिल्लो दुई महिनाको अवधिमा बोर्डले ३ सय बढीलाई ७ लाखका दरले आर्थिक सहायता उपलब्ध गराएको श्रेष्ठले बताउनुभयो । 


प्रतिक्रिया