स्वास्थ्य र शिक्षाको क्षेत्रमा बजेज पर्याप्त छैन : पूर्व अर्थमन्त्री खतिवडा

आश्विन २४, २०७७ | काठमाडौं

पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा बजेज पर्याप्त नभएको बताउनुभएको छ । गैरआवासिय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा आज डा खतिवडाले पछिल्ला दुई वर्ष यता शिक्षा र स्वास्थ्यमा बजेट विनियोजन बढे पनि पर्याप्त नरहेको बताउनुभएको हो ।

पूर्वमन्त्री खतिवडाले कोभिड–१९ विरुद्धको काम तीनवटै सरकारको समन्वयमा भइरहेको बताउनु भएको छ । सम्मेलनमा आज डा खतिवडाले स्वास्थ्य क्षेत्रमा बढी बजेट विनियोजन भएको र क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनको काम समन्वय गरेरै भइरहेको बताउनुभएको हो । खतिवडाले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि अध्ययनको काम भइरहेको जानकारी समेत गराउनुभयो ।

नेपाली कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले विदेशमा रहेका नेपालीको ज्ञानलाई स्वदेशमा प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो। अहिले अर्थतन्त्रका केही इन्डिकेटर राम्रा रहे पनि विपन्न वर्गलाई सरकारले के गर्‍यो भन्दै उहाँले प्रश्न गर्नुभयो । जोशीले भन्नुभयो, ‘आम्दानी नै नहुने स्थिति छ, रोजगारी खोसिएको छ, अस्पताल गएर उपचार गराउनसक्ने अवस्था छैन, उहााहरूका लागि सरकारले के गर्‍यो? यसबाट कसरी बाहिर निस्कने भनेर चिन्तन र रणनीति खोइ? कोभिडसँग लड्न पर्याप्त रकम जम्मा गर्न कांग्रेसले पहिले नै भनेको स्मरण गराउादै जोशीले भन्नुभयो, ‘राहत प्याकेजका लागि बारम्बार भन्यौं। तर, सुनुवाइ भएन । यो अवस्थामा सडकमा जान पनि मिलेन ।’

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले कोभिड–१९ का कारण आर्थिक संकट गहिरिँदै गएको बताउनुभयो । अर्थतन्त्र विरामी हुँदा प्रत्येक क्षेत्रलाई छुट्याएर सोही अनुसार उपचार गर्न सरकारले सर्भे गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । ‘देशलाई अझै धनी बनाउनुपर्छ भनेर कोभिड–१९ ले देखायो। धनी देशहरू व्यवसाय र रोजगारी जोगाउन जति पनि खर्च गर्नसक्ने सामर्थमा पुगे,’ उहाँले भन्नुभयो, ‘हाम्रो देशको आर्थिक अवस्था पनि राम्रो भएको भए व्यवसाय र रोजगारी जोगाउन सकिन्थ्यो ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले गैरआवासीय नेपालीसँग रहेको ज्ञान, सीप र भिजनको समुचित प्रयोग गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभयो ।

समन्वय, सहकार्य गरेर दिगो विकास लक्ष्य प्राप्तिमा लाग्नुपर्ने उल्लेख गर्दै प्रा डा कँडेलले कोभिड–१९ ले प्राथकिताका क्षेत्र परिवर्तन गरेको उल्लेख गर्नुभयो । स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार र रोजगारीका क्षेत्रमा खर्च बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले लकडाउन कारण प्रधानमन्त्री रोजगार कार्यक्रम लगायत अन्य रोजगारीका कारण सञ्चालनमा ढिलाइ भएको बताउनुभयो । साइप्रसका पूर्वअर्थमन्त्री डा. मिचेल सारिसले कोभिड–१९ संकटको समयमा स्वास्थ्यका दृष्टिकोणबाट अगाडि बढेका देशले राम्रो काम गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थालाई राजनीतिज्ञको नेतृत्वबाट भन्दा चिकित्सा क्षेत्रबाट एकरुपता र पारदर्शी रुपमा काम गर्न सकेको बताउनुभयो। जुन नेतृत्वले स्वास्थ्यको दृष्टिबाट अर्थनीति बनाएका छन् । तिनीहरुले व्यापारमा राम्रो गरेको देखिन्छ ।’ 


प्रतिक्रिया