एनआरएनएको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित

माघ १०, २०७७ | काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रस्तावित विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । गैरआवासीय नेपाली संघको शनिवार सुरु भएको विशेष महाधिवेशनले विधान संशोधन प्रस्तावलाई सर्वसम्मतिलेअनुमोदन गरेको हो । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको विशेष अधिवेशनमा संघका पूर्व प्रवक्ता भूषण घिमिरे र उपाध्यक्ष मन केसीद्धारा प्रस्तुत विधान संशोधनको साझा प्रस्तावलाई महाधिवेशनमा प्रस्तुत गरेका थिए । 

संशोधन प्रस्तावमाथि ५ घण्टा लामो छलफल पछि अध्यक्ष कुमार पन्तको संशोधित विधान पारित गरियोस् भन्ने प्रस्तावलाई ध्वनिमतका साथ सर्वसम्मतिले पारित गरिएको हो । संशोधित विधानमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन जुलाई महिनाभित्र गरि सक्नुपर्ने , केन्द्रीय प्रतिनिधिको नामावली १५ अगष्टसम्म सार्वजनिक गर्नुपर्ने, थप एक युवासहित जम्मा ६ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

 यस्तै दुई सह–कोषाध्यक्ष मध्ये एक महिला अनिवार्य, क्षेत्रीय युवा उपसंयोजक थपिने, निर्वाचन समिति संख्या आवश्यकताअनुसार राख्ने, पाँच सदस्यीय निर्वाचन अनुगमन समिति बनाइने, एक महिलासहित २ जना सचिव थपिने, केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना कायम गर्ने, पेशागत तथा शैक्षिक समन्वय इकाई गठन प्रावधान राखिएको छ । यस्तै क्षेत्रीय महिला उपसंयोजक थपिने, निर्वाचन अनलाइन माध्यमबाट गरिने, आइसीसीको निर्देशन नमान्ने राष्ट्रिय समिति कारबाहीमा पर्ने, केन्द्रीय प्रतिनिधि चयन ६५ प्रतिशत पुराना र २५ प्रतिशत एनसीसीबाट निर्वाचित, १० प्रतिशत अध्यक्षले मनोनित गर्ने र .अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने प्रावधान राखिएको छ । 

संशोधित विधान नेपाल सरकारको परराष्ट्रमन्त्रालयले प्रमाणित गरेपछि लागू हुनेछ । आजबाट सुरु विशेष महाधिवेशनको भोलिको सत्रमा आइतबार आर्थिक प्रतिवेदनमाथि छलफल हुने महासचिव डा हेमराज शर्माले जानकारी दिनुभयो ।  


प्रतिक्रिया