उपचारका नाममा युवतीहरुको यौनशोषण

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३०, २०७६ | काठमाडौं

काठमाडौँ — धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक ‘लामा’ लाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ । 

दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो । उच्च अदालतको फैसलापछि प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी मनीषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।

ट्रेकिङ व्यवसायी टुल्कु बनेपछि...

ट्रेकिङ व्यवसायी ज्ञानबहादुर लामा एकाएक नाम परिवर्तन गरेर रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा बनेका थिए । आफूमा भगवान्को अवतारको बास भएको भनी उनले सुरुमा काठमाडौंको गैरीधारामा झारफुक लगायतका काम गरे । भक्तले दिएको चन्दा र भेटी संकलन गरी दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा स्थापना गरे । उनले त्यहीँबाट आफ्नो नियमित कर्म जारी राखे ।

छालासम्बन्धी रोग लागेकी फर्पिङ प्रथम (परिवर्तित नाम) लाई आमाबाबुले झारफुक गराएर निको बनाउन २०६६ जेठमा लामाकहाँ पुर्‍याए । प्रारम्भिक उपचारपछि लामाले उनलाई एक्लै बनाए । कपडा लगाएर उपचार गरे निको नहुने भनी निर्वस्त्र बनाएर झारफुक गरे । फर्पिङ प्रथमले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार त्यसको करिब २० दिनपछि लामाले उपचार गर्ने कोठामा निर्वस्त्र गराई जबर्जस्ती करणी गरे ।

आफूलाई धर्मगुरु बताउने टुल्कु लामाले ‘अरू कसैलाई भने क्षति हुन्छ, रोग बल्झन्छ’ भनी उनलाई डर देखाउँथे । उपचारका लागि गुरुसँग यौनसम्पर्क राख्नुपर्छ भनी आश्वस्त पार्थे । उनले आफू गुरु भएको र गुरु ३३ कोटी देवताको अवतार भएको भन्दै आफ्नो वाणी पुग्ने विश्वास दिलाएका थिए । लामा रिसाए अनिष्ट हुने डर र त्रासमा आफूले सो कुरा अरूलाई नभनेको भनी पीडितले जाहेरीमा भनेकी थिइन् । ती लामाले फर्पिङ प्रथमलाई गुम्बामा बस्दा बाहिर निस्कन, परिवारसँग सम्पर्क गर्न र अरू पुरुषसँग कुराकानी गर्न दिँदैनथे । फर्पिङ प्रथमले लामो समयको शारीरिक तथा मानसिक यातना सहन नसकी २०७३ सालमा आमासँग कुराकानी गरिन् र गुम्बा छाडी घर फर्किइन् ।
पीडितले प्रहरी र त्यसपछि अदालतमा दिएको बयानअनुसार उनी घर फर्केपछि टुल्कु लामाले परिवारका सदस्य, नातेदारलगायतलाई बारम्बार फोन गरी उनका बारेमा जथाभावी बोल्ने गर्थे । बिहेको कुरो चल्न थालेपछि पहिले नै खिचिएका केही आपत्तिजनक अवस्थाका फोटो फेसबुकमा पोस्ट गर्न थाले ।

अति नै हुन थालेपछि फर्पिङ प्रथमले ‘धर्म र उपचारका नाममा आफ्नो वशमा पारी शारीरिक र मानसिक शोषण गर्ने ढोंगी धर्मगुरु दोर्जे योन्तान योञ्जन टुल्कु लामालाई आवश्यक कारबाही गरिपाऊँ’ भनी २०७४ मंसिर ५ गते प्रहरीमा किटानी जाहेरी दिइन् । उजुरी पर्नासाथ प्रहरीले गुम्बामा छापा मार्‍यो अनि एउटा कम्प्युटर, केही थान फोन र क्यामेरा र विभिन्न बट्टामा राखिएका धूलो पदार्थ बरामद गर्‍यो । खानतलासीका क्रममा विभिन्न युवतीका नाममा बनेको फाइल तथा नागरिकता पनि भेटियो ।

आफूलाई लामा भनी चिनाउने दोर्जे योन्तान योञ्जन टुल्कु पक्राउ परेपछि विभिन्न ठाउँबाट पीडितहरू प्रहरीको सम्पर्कमा आए । अर्की पीडित फर्पिङ द्वितीय (परिवर्तित नाम) ले दिएको बयानमा भनेकी छन्, ‘राम्रा केटीहरू उपचारका लागि आएपछि लामाले तिमी मेरो अघिल्लो जन्मकी श्रीमती हौ, तिमीलाई देवी बनाइराख्छु भनी विभिन्न धार्मिक कुरा गरी केटीलाई ललाईफकाई आफूसँग राख्ने र उनीहरूसँग यौनसम्पर्क गर्नेसमेत गरेको भन्ने कुरा थाहा पाएकी हुँ ।’

अर्की पीडित फर्पिङ तृतीय (परिवर्तित नाम) पहिलो पीडितकै नातेदार हुन् । उनका अनुसार त्यो उत्पीडनबाट भागेर आएकी फर्पिङ प्रथमको विवाहको तयारी हुँदा ती लामाले थाहा पाए र पीडित र उनका आफन्तलाई फोन गरेर ‘बिहे गरे अनिष्ट हुन्छ’ भनी धम्क्याए । हुनेवाला बेहुलो पत्ता लगाएर फेसबुकमा ट्याग गरी आपत्तिजनक र गोप्य फोटाहरू सार्वजनिक गरिदिएका थिए ।

लामाविरुद्ध उजुरी दिएका अर्का पीडित फर्पिङ चतुर्थ (परिवर्तित नाम) छारे रोगको उपचार गराउन लामाकहाँ गएका थिए । उनकी श्रीमती पेटको रोगबाट आक्रान्त थिइन् । उनका अनुसार विभिन्न व्यक्तिबाट लामाको प्रभाव सुनी उनीहरू फर्पिङ गए र लामाले झारफुक गरी औषधि दिए । फर्पिङ चतुर्थको बुझाइमा श्रीमतीलाई निको पनि हुन थाल्यो । लामाले उपचारका क्रममा श्रीमान्सँग बस्न नहुने, चोखो भएर बस्नुपर्ने उपदेश दिए । चोखो भई गुम्बामै बसे छिटो निको हुने सल्लाह दिएपछि फर्पिङ चतुर्थले घरसल्लाहमा आफ्नी पत्नीलाई गुम्बामा पठाए । एक वर्षपछि ती महिला एक दिन घर आइन्, फर्पिङ चतुर्थलाई ‘तिमीसँग बस्न सक्दिनँ, म आफ्नो तालले बस्छु, तिमीले आफ्नो ताल गर्नू’ भनिन् र बाटो लागिन् ।

टुल्कु लामाबाट बेलायती सेनामा कार्यरत एक दम्पती पनि पीडित भएका थिए । श्रीमान् बेलायती सेनामा थिए र श्रीमतीलाई घुँडा दुख्ने रोग थियो । लामाकहाँ गएर उपचार थालिन् । निको नभएपछि रिम्पोछेले तत्काल निको हुँदैन, यसका लागि समय लाग्छ, गुरुको सम्पर्कमा रहिरहनुपर्छ भने । उनले पटकपटक चन्दा र सहयोग मागिरहे । चाल्नाखेलमा गुम्बा बनाउन लागेको भनी मोटो रकम जुटाए । सापटीको रकमसमेत फिर्ता गरेनन् ।

लामालाई भेट्न उनी ‘निसान नोभान’ जिप चढेर जाने गर्थिन् । त्यसबेला करिब ४२ लाख रुपैयाँ पर्ने गाडी देखेपछि लामाले ‘यो गाडी गुरुको रङको परेछ, यो तिमीहरूले चढ्नु हुँदैन, यो गाडी मलाई दिनू’ भनेर माग्न थाले । उनले ‘गुरुलाई गाडी नदिए नसाको रोग लाग्छ, प्यारालाइसिस हुन्छ’ भनेपछि गाडी दिएको उनले बयानमा खुलाएकी छन् । पीडितका अनुसार लामाले आफूसँग राखेकी बालिकालाई सुरुमा छोरी भनी चिनाएकामा पछि भने धर्मपत्नी बताउने गरेका थिए ।
टुल्कु लामाले गैरीधारा बस्ने अर्की महिलालाई गुरुआमा भनी चिनाउने गरेका थिए । पछि उनलाई गुम्बाबाट निकाले । अरूले सोध्दा ‘गुरुआमाको धर्मको अध्याय सकिएको र कर्म बिगारेकाले निकालेको’ भनी जवाफ दिएका थिए । ती महिलाले आफ्नो बयानमा ‘लामाले आफूमाथि यौन दुराचार गर्न खोजेको र त्यसको प्रतिकार गरेकाले मलाई निकालेको’ बताएकी छन् । उनले भनेकी छन्, ‘लामाले फर्पिङ प्रथमबाहेक अन्य धेरै महिला तथा केटीलाई धार्मिक कुराको आडमा जबर्जस्ती करणी गरेको हुन सक्छन् ।’ प्रहरी मिसिलअनुसार ती लामाले गुम्बामा धेरै केटी राखेका थिए । आफूकहाँ आउने भक्तालुलाई गुरुका नौ जना अर्धाङ्गिनी हुन्छन् भन्ने गरेका थिए ।
अर्का दम्पतीको भनाइअनुसार लामाले पूजा र धार्मिक अनुष्ठानका लागि भन्दै उनीहरूसँग करिब २५ लाख रुपैयाँ लिएका थिए । उपचारका क्रममा पतिपत्नी सँगै सुत्न हुँदैन भनेका थिए । भेट्न जाँदा ‘तिमीहरू सँगै सुतेछौं, पाप कटाउन यति रकम दिनुपर्छ’ भनेर पैसा माग्ने गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले उक्त गुम्बा सरकारी निकायमा दर्ता नै नभएको पत्ता लगायो । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अनुसार उनको गुम्बा समितिमा दर्ता भएको थिएन भने लामालाई पनि समितिले कुनै परिचयपत्र दिएको थिएन । लामाले बयानका क्रममा आफूविरुद्ध उजुरी दिने फर्पिङ प्रथमलाई नौ वर्षदेखि चिनेको भन्दै उनी आफ्नी पत्नी भएको दाबी गरेका थिए । ‘नौ वर्षदेखि उनलाई मैले विवाह गरी अर्धाङ्गिनी बनाएको छु,’ उनले बयानमा भनेका छन्, ‘उनी मेरो पूर्वजन्मको पत्नी ठहर्‍याएपछि मैले पत्नी भएर बस्न अनुरोध गरेको हुँ ।’ लामाले उनी (फर्पिङ प्रथम) घर गएकाले फर्केर आउने आशामा आफूले उनका आपत्तिजनक फोटो अपलोड गर्न लगाएको पनि बताएका छन् । फोटो अपलोड गर्ने उनकी सहयोगी मनीषा लामालाई पनि दोषी ठहर गर्दै दण्डित गर्ने जिल्ला अदालतको फैसलालाई उच्च अदालतले सदर गरेको छ ।

उच्च अदालतले के भन्यो ?

जिल्ला अदालतको फैसला आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालत पाटनले ‘झुक्याउने अनि प्रलोभनमा पारेका भरमा सहमति भन्न नमिल्ने’ फैसला गरेको छ । लामाले फर्पिङ प्रथमलाई विवाह गरेकाले ‘सहमतिमा सम्पर्क हुने गरेको’ दाबी गरेका थिए । ‘डर, त्रास र झुक्यानमा पारी इच्छा विपरीत करणी गरेका हुन् भनी जाहेरी छ,’ फैसलामा भनिएको छ, ‘लामा ईश्वरको डर, त्रास र भयमा पारेर यौनसम्बन्ध राख्न सफल भएका छन् । सो कार्यमा कहीँकतैबाट पनि पीडितको स्वतन्त्र सहमति रहेको भन्ने देखिन आउँदैन । त्यसमा उसको जालझेल, छलछाम र अनुचित प्रभाव रहेको प्रस्टसँग देखिन्छ ।’ उच्च अदालतले आरोपितले कसैलाई पत्नी भनी बताएको भरमा नाता प्रमाणित नहुने भनी लामालाई दोषी किटान गरेको छ ।
आफ्नो आपराधिक कामलाई लामाले विवाह र पतिपत्नीको सम्बन्ध भनेको तथा विवाह हुनका लागि पालना हुनुपर्ने कानुनी तथा सामाजिक मान्यता अवलम्बन नगरेको भन्दै फैसलामा भनिएको छ, ‘विवाहका कुनै पनि सर्तहरू प्रतिवादीले जिकिर गरेको पीडितसँग भएको भनिएको वैवाहिक सम्बन्धमा परिपूर्ति भएको पाइँदैन ।’ पीडितको स्वतन्त्र सहमतिबाट नभई अनुचित प्रभावमा पारेर मात्र करणी सम्भव भएको भन्दै अदालतले ‘डर, त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी करणी गरेको प्रमाणित हुने’ ठम्याएको हो ।

उपचारका लागि आएका व्यक्तिलाई उपचारकर्ताबाट धोका र विश्वासघात भएको भन्दै उच्च अदालतले ‘विवाह नै भएको अवस्थामा पनि पत्नीको मञ्जुरी रहेनछ भने करणीसम्बन्धी कार्य जबर्जस्ती करणी नै ठहर्छ’ भनेको छ । वर्षौंपछि उजुरी परेको भन्दै टुल्कु लामाका कानुन व्यवसायीहरूले हदम्यादको कारण जबर्जस्ती करणी ठहर्न नसक्ने दाबी गरेका थिए । फैसलाले त्यसको खण्डन गरेको छ ।
‘गुम्बा प्रवेश गराइएकी पीडितलाई जाहेरी दर्ता गरेको केही महिनाअघिसम्म बलात्कार गरेको देखिन्छ,’ फैसलामा भनिएको छ, ‘महिलाको सहमतिबिना करणी भएकामा पीडकले गुम्बामा राखी वर्षौंसम्म यौनसम्पर्क राख्दैमा अपराध नहुने भन्न मिल्दैन । अरूको नियन्त्रणमा रहेकै कारणले ढिलो जाहेरी परेको भनी त्यस्तो अवस्थालाई यान्त्रिक रूपमा लिई पीडितको तथ्ययुक्त भनाइलाई अस्वीकार गर्न मिल्दैन ।’ उच्च अदालतले सजाय निर्धारणका क्रममा पीडितलाई डर, त्रास र झुक्यानमा पारिएको भन्दै त्यसलाई गम्भीर प्रकृतिको अपराध मानेको छ । ‘पीडितको स्वतन्त्र सहमति र इच्छाविपरीत कथित अन्तर्यामीले आदेश दिएको भनी जबर्जस्ती करणी गरेको तथ्य स्वयं प्रतिवादीको अदालतसमक्ष बयान र पीडितको जाहेरी एवं बकपत्रसमेतबाट प्रमाणित भएको छ,’ फैसलामा भनिएको छ ।

विश्वासको दुरुपयोग गरेको, आफ्नो संरक्षणमा रहेको व्यक्तिविरुद्ध कसुर गरेको, क्रूर व्यवहार गरेको र एकै ठाउँमा एक पटकभन्दा बढी कसुर गरेको तथा शरीर बन्धक बनाई कसुर गरेकाले अदालतले अधिकतम सजायको फैसला ठहर गरेको हो । ‘ती लामामाथि कायम भएको कसुरका लागि सजाय गर्दा सो कसुर अनपेक्षित रूपमा गम्भीर प्रकृतिको रहेको देखिन्छ । निजले गरेको आपराधिक कार्य महिला हिंसाविरुद्धको गम्भीर फौजदारी कसुरसमेत हो,’ फैसलामा भनिएको छ, ‘यस्तो प्रकृतिको अपराधमा कुनै पनि अपराधीलाई कुनै सहानुभूतिबिना हदैसम्मको सजाय गरी दण्डित गरिनु नै वाञ्छनीय हुन्छ ।’


प्रतिक्रिया