खोटाङ डायरी

कार्तिक १४, २०७३ | खोटाङ

खोटाङ डायरीमा डम्बरसिं राईको नमस्कार

खोटाङमा तिहारको रमझम

खोटाङमा तिहारको रमझम छाएको छ । आज गाइतिहारको दिन विहानदेखि गाईको पूजा र साँझ लक्ष्मीको पूजा आराधनामा रमेको छ । सदरमुकाम दिक्तेल लगायतका गाउँगाउँ देउसीमा रमाइरहेका छन् । माझ किराँत भनेर चिनिने खोटाङमा दशै नमनाएपछि अधिकांशले तिहार मनाउने गरेकाले निक्कै रमाइलो भएको कांग्रेस महासमिति सदस्य तथा पूर्व जिविस सभापति विष्णुकुमार राईले बताउनुभयो । 

मेवाखोला जलविद्युत तिहार लगत्तै

मेवा खोला जलविद्युत आयोजना तिहार लगत्तै प्रसारण हुने भएको छ । करिब साढे २१ करोडको लगानीमा नौं सय ९६ किलोवाट क्षमताको विद्युत आयोजना आगामी १७ गतेदेखि प्रसारण हुने भएको हो । उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनको बुइपा सवस्टेसनमा जडान गरेर वितरण गरिने आयोजनाका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो । विद्युत प्रसारणपछि जिल्लाबासीले लोडसेडिङको सास्ती सहज हुने जिल्लाबासीको अपेक्षा छ । यो आयोजनामा सानिमा र बैंक अफ काठमाण्डुको ७० प्रतिशत र उपभोक्ता लगायत लगानीकर्ताको तीस प्रतिशत लगानी छ ।

खोटाङमा दश पालिका

खोटाङ जिल्लालाई दश पालिका बनाउने सहमतिपछि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले पुनर्संरचना आयोग समक्ष सिफारिस गरेको छ । जिविसको सभाहलमा कात्तिक ९ गतेको सर्वदलीय बैठकले दुई नगरपालिका सहित दश पालिका बनाउने सहमतिपछि सिफारिस गरेको हो ।

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेका अनुसार दुर्छिम केन्द्र रहने गरी हलेसीतुवाचुङ नगरपालिका, दिक्तेल केन्द्र रहने गरी रुपाकोटमझुवागढी नगरपालिका, ऐसेलुखर्क केन्द्र रहने गरी ऐसेलुखर्क गाउँपालिका, बाक्सिला केन्द्र रहने गरी केपिलासगढी गाउँपालिका, मात्तिममानेभन्ज्याङ केन्द्र रहने गरी साकेला गाउँपालिका, पञ्चमी केन्द्र रहने गरी दिप्रुङ गाउँपालिका, सिन्ताङ केन्द्र रहने गरी बराहापोखरी गाउँपालिका, चिसापानी केन्द्र रहने गरी जन्तेढुङ्गा गाउँपालिका सिफारिस गरिएको हो ।

जालपामा तिहार विशेष कार्यक्रम 

खोटाङ जिल्लाको उत्तरी गाविस जालपामा तिहार विशेष कार्यक्रम आयोजना गरिएको छ । आज दिउँसो गायक तथा संगीतकार जितेन राई, गायिका पार्वती राई लगायतका राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका छन् । अहिले साँझदेखि किरात मिथकमा आधारित चलचित्र विनायो प्रदर्शन भइरहेको छ । उक्त कार्यक्रममा जालपा, खार्मी, हौचुर, पाथेका, सप्तेश्वर, बाक्सिला लगायतका दर्शक श्रोताले मनोरन्जन लिएका छन् । 

हवस त खोटाङ डायरी आजलाई यति नै डम्बरसिं राईलाई बिदा दिनुहोस नमस्कार ।

 


प्रतिक्रिया