खोटाङ डायरी

मंसिर २७, २०७३ | खोटाङ

अवैध ढुंगा गिटी खानी रोकिएन

खोटाङको धार्मिक तथा पर्यटकीय मझुवागढी क्षेत्रमा अवैध रुपमा ढुंगा गिटी खानी सञ्चालन गरिएको छ । अवैध ढुंगा गिटी खानी सञ्चालनले मझुवागढी क्षेत्रमा पर्ने कालिका भगवती मन्दिर, बुढेश्वर गुफा, सिद्धेश्वर गुफा, त्रिमुक्तेश्वर मन्दिर लगायतका धार्मिकस्थल जोखिममा परेको छ । ब्रेकर लगाएर ढुंगा खानी सञ्चालन गरिएकाले यस क्षेत्रका तीन वटा पानीको मुहान समेत सुकेको स्थानीय नेत्र कटवालले बताउनुभयो । अवैध ढुंगा खानीले बृहत मझुवागढी गुरुयोजनालाई समेत असर गरेको छ । दिक्तेल नगरपालिका, जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिदा समेत बेवास्ता गरिएको स्थानीयले बताएका छन् । स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले प्राकृतिक श्रोत, वातावरणीय असर, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई असर पुग्ने देखिएको उल्लेख गर्दै खानी बन्द गर्न जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले भने खानी बन्दका लागि प्रहरीलाई निर्देशन दिएको बताउनु भयो । 

शिक्षामा परिवर्तनको संकेत

मुलुकमै शैक्षिक गुणस्तर कमजोर साबित भएको खोटाङमा शैक्षिक गुणस्तर सुधारको प्रयास सुरु गरिएको छ । शिक्षा अधिकारी ज्ञानमणि नेपाल खोटाङ आउनु भएलगत्तै शैक्षिक गुणस्तर सुधारको अभियान सुरु भएको हो । अभियान अन्तरगत विद्यालयमा राजनीतिक गतिविधि गर्न नपाइने, शिक्षकले राजनीतिक दलमा आवद्ध हुन नपाउने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका बालबच्चा निजी विद्यालयमा पढाउन नपाउने लगायतका निर्णयका साथ अभियान थालिएको हो । 

शिक्षाको गुणस्तर मापनका लागि विद्यार्थीलाई समेत परीक्षा लिने र परीक्षामा विद्यार्थी कमजोर देखिए सम्वन्धित शिक्षकलाई कारबाही गरिने शिक्षा अधिकारी नेपालले बताउनु भयो । पछिल्लो एक महिनाअवधिको अभियानले शैक्षिक क्षेत्रमा तरंग छाएको छ ।

खोटाङमा दश पालिका

खोटाङको दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको पर्यटन विकासका लागि ४५ लाख बजेट बिनियोजन गरिएको छ । निर्वाचन क्षेत्र विकास अन्तरगत सो रकम विनियोजन गरिएको हो । बराहपोखरीलाई पर्यटन विकास गर्दै जिल्लाको आर्थिक समृद्धिमा सघाउ पुर्‍याउने उद्देश्यले रकम विनियोजन गरिएको सांसद विशाल भट्टराईले बताउनुभयो । यस अन्तरगत पोखरी वरिपरी घेराबार हाल्ने, पोखरीको भित्री भाग सफा गर्ने लगायतका काम गरिने सांसद भट्टराईले सुनाउनु भयो ।

कुहिएको चामल खादै कैदीबन्दी

खोटाङ जिल्ला कारागारका कैदीबन्दीले कुहिएको चामल उपभोग गर्न बाध्य भएका छन् । कारागारका कैदीबन्दीका लागि खाद्यन्नको जिम्मा लिएको नेपाल खाद्य संस्थानले कुहिएको चामल दिएपछि कैदीबन्दीले त्यस्तो चामल उपभोग गर्न बाध्य भएका हुन् । यसबारेमा राष्ट्रिय मानव अधिकार आयोगले समेत जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको तर सुनुवाइ नभएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयका प्रमुख दीपक घिमिरेले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले भने कुहिएको चामल दिएको भन्ने गुनासो आएपछि साट्न लगाइएको बताउनुभयो । कैदी बन्दीले भने तीन वर्षदेखि कुहिएकै चामल उपभोग गर्न वाध्य भएको बताएका छन् ।

हवस् त खोटाङ डायरी आजलाई यति नै डम्बरसिं राईलाई बिदा दिनुहोस् नमस्कार ।


प्रतिक्रिया