सिराहा डायरी

चैत्र २४, २०७३ | सिराहा

 

सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरेको विरोधमा सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले गाउँपालिका कार्यालयको मुल गेटमा आमरण अनसन सुरु गरेको छ । सुखीपुरलाई नगरपालिका कायम गर्न माग गर्दै संघर्ष समितिका संयोजक बिपीभुवन यादवको नेतृत्वमा रामभरोस साह, हरेराम यादव, रामकिसुन यादव, श्याम कुमार यादव र विन्देश्वर पञ्जियार आमरन अनसनमा बसेका हुन् । सरकारले २०७२ असोज १ गतेको निर्णयबाट मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कन्हा, बल्ही र सिलोरवा पछवारी लगायत आसपासका सात गाविसलाई समायोजन गरी सुखीपुर नगरपालिका घोषणा गरेको थियो । 

 

नगर र बजार क्षेत्रमा प्लाष्टिक झोला प्रतिबन्ध गरिएपछि सिरहाको ग्रामीण क्षेत्र बडहरामाल १ रतनपुरका महिला विकल्पमा फाइबर झोला निर्माण गरी उद्यमशाीलतामा अग्रसर भएका छन् । रतनपुरका २० महिला फाइबर झोला बनाउने तालिम लिएर फाइबर झोला व्यवसायमा सक्रिय भएका हुन् । ९० दिनको झोला बनाउने तालिम लिएका उनीहरुले फाइबर झोला निर्माण र बिक्रीबाट आम्दानी लिन थालेका छन् । महिलाहरुले लालीगुराँस, मखमली, सगरमाथा र फुलबारी गरी चार वटा समूह निर्माण गरी सामुहिक रुपमा झोला उत्पादन गर्दै आएका छन् । 

 

कृषि प्रयोजनका लागि भन्सार छुट सुविधामा कृषकहरुले खरिद गर्ने ट्रयाक्टर कानुन विपरीत गैरकृषि गिट्टीढुङ्गा ढुवानी, घर निर्माण, ग्राभेल र अन्य विकास निर्माणको कार्यमा पनि प्रयोग हुन थालेपछि ट्रयाक्टर दुर्घटनामा बृद्धि भएको छ । पछिल्लो आठ महिनामा सिरहामा ४० जनाको मृत्यु भएको छ । ती मध्ये ट्रयाक्टर दुर्घटनामा १७ जनाको ज्यान गएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रुद्र प्रसाद चुडालले कृषि सामाग्री ढुवानी र कृषि प्रयोजन बाहेक ट्रयाक्टर अन्य काममा प्रयोग गर्न नपाईने भएपनि बिवाह, मेला, उत्सवमा मान्छे ओसारपसार र गैरकृषि गिट्टीढुङ्गा ढुवानी, घर निर्माण, ग्राभेल र अन्य विकास निर्माणको कार्यमा पनि प्रयोग हुन थालेपछि ट्रयाक्टर दुर्घटनामा वृद्धि भएको बताउनुभयो । 

 

स्थानीय व्यवसायी र चामल उत्पादकहरुले मनपरी मूल्य निर्धारण गर्दै महंगी बढाउन थालेपछि खाद्य संस्थानले आपूर्तिका लागि चामल उत्पादन सुरु गरेको छ । सगरमाथा अञ्चलभरी चामल आपूर्ति गर्दै आएको लहानस्थित खाद्य संस्थान सगरमाथा अञ्चल कार्यालयले चामल उत्पादन सुरु गरेको हो । धान खरिद गरी केन्द्रमा पठाउँदै आएको खाद्यले यसवर्षदेखी आफैंले कुटानीबाट चामल उत्पादन गरेर कार्यालयबाटै बिक्री सुरु गरेको हो । स्थानीय व्यवसायी तथा चामल उत्पादकहरुले मनपरी मूल्य निर्धारण गर्दै बजारमा चामलको भाउमार्फत महंगी बढाउन थालेपछि संस्थानले चामल उत्पादन गरी विक्री वितरण गर्न बाध्य भएको संस्थानका सगरमाथा अञ्चल प्रमुख लालमोहन ठाकुरले जानकारी दिनुभयो ।  

 

खेतको आली र गह्रामा उम्रिने बाबियोलाई उपयोग गरि सिरहा कल्याणपुर जब्दी १ का महिलाहरुले डोरी बनाई बिक्रीबाट आम्दानी लिन थालेका छन् । गाउँघरमा घरायसी काम र कृषि क्षेत्रमा प्रयोगमा आउने डोरीका लागि बाबियोको प्रयोग गरिएपछि उनीहरुले बाबियोलाई सदुपयोग गर्न थालेका हुन् । अहिले उनीहरुले बाबियोलाई मेसिनबाट डोरी बनाई प्रति किलो एक सय रुपैयाँमा बिक्री गरी आम्दानी लिन थालेका छन् ।


प्रतिक्रिया