दार्चुला डायरी

भाद्र १८, २०७४ | दार्चुला

 

३ महिनामा चमेलियाबाट बिजुली 

प्रदेश नम्बर ७ को सबै भन्दा ठूलो चमेलिया जलविद्युत आयोजनाले ३ महिनापछि बिजुली उत्पादन गर्ने भएको छ । शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माणाधिन ३० मेघावाटका आयोजनाले नोवेम्बरमा बिजुली बाल्न गरी निर्माण कार्य अगाडी बढाईरहेको आयोजनाले जनाएको छ । अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको र सबै मेसिनहरुको परीक्षण गरिसकेकाले आगामी अक्टोबरको दोस्रो हप्ताबाट विद्युत परीक्षण उत्पादन सुरु गर्ने आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो । यही सेप्टेम्बर दोस्रो साताबाट इलेक्ट्रोनिक मेकानिकल परीक्षण गर्ने र सेप्टेम्बरमा सबै सिभिल काम गरिसक्ने आयोजना प्रमुख दाहालको भनाई छ । यही किसिमले काम गति अगाडी बढे र कुनै किसिमको बाधा नआए यसअघिको तालिका भन्दा एक महिना अगाडी नै चमेलियामा बत्ती बाल्ने तयारी भैरहेको आयोजनाले जनाएको छ । 

भाईरल ज्वरो

मौषममा आएको परिवर्तनले गर्दा जिल्ला अस्पतालमा भाईरल र निमोलियाका बिरामीहरुको चाप बढेको छ । दैनिकजसो अस्पतालमा २५ देखि ३० जनासम्म भाईरल र निमोलियाका बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । बालकदेखि वृद्धवृद्धाहरु दिनहुँ यो समस्या लिएर उपचारका लागि अस्पताल आउने डा. सुरेन्द्रप्रसाद भट्टले बताउनुभयो । भाईरल ज्वरोले एक हप्तादेखि बढी बिरामीलाई सताउने गरेको छ । अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये आधाभन्दा बढी ५/७ दिनभित्र निको हुने र कसैलाई हप्ता दिनभन्दा बढी सताउने गरेको डा. भट्टको भनाई छ । जिल्लाको इमेर्जेन्सी र ओपिडि कक्षमा उपचार गराउने अधिकांश बिरामीहरु पनि भाईरल र निमोलियाबाट प्रभावित भएको समस्या लिएर आउने गरेका छन् । अहिले भाईरल ज्वरो सबै उमेर समुहका व्यक्तिहरुमा आएको छ । निमोलियाबाट भने बालबालिकाहरु बढी प्रभावित भएको अस्पतालले जनाएको छ । ग्रामिण स्वास्थ्य संस्थाहरुमा दुई/तीन दिनसम्म उपचार गर्दा निको नभएर जिल्ला अस्पतालमा आउने बिरामीहरुको संख्या पनि बढ्दै गएको छ । 

पढाई प्रभावित

मार्मा गाउँपालिका ४ मेलेगाडमा पुल नहुँदा मर्मतीका ७० जना बालबालिकाहरुको पढाई प्रभावित भएको छ । एक महिनादेखि नदीमा पुल नबन्दा विद्यालय उमेर समुहका सबै जनाको पढाई छुटेको अभिभावकहरुले बताएका छन् । यो नदीमा अहिलेसम्म पुल नबन्दा हरेक वर्षातमा यहाका बालबालिकाहरुको पढाई प्रभावित हुने गाउँका अभिभावक वीरसिंह विष्टले बताउनुभयो । यो गाउँको पारिपट्टी रहेको हटिनाथ आधारभुत विद्यालया यहाँका विद्यार्थीहरु अध्ययनरत छन् । स्थानीयहरुले आफ्ना बालबालिकाहरुको पढाई प्रभावित नहोस  भनेर काठे पुल निर्माण गरेपनि त्यो समेत नदीले बगाएको स्थानीय अभिभावक रतन विष्टले जानकारी दिनुभयो । विभिन्न समयमा उक्त पुल निर्माणका लागि पटक–पटक सम्बन्धीत निकायलाई अनुरोध गरेपनि अहिलेसम्म पुल बन्न नसक्दा बर्खामा आफ्ना बालबालिकाहरुको पढाई प्रभावित हुँदै आएको अभिभावकहरुको गुनासो छ । 

बाली भित्र्याउन सुरु

जिल्लाका महाकाली र चौलानी किनार क्षेत्रका किसानहरु बर्खेबाली भित्र्याउन थालेका छन् । गर्मी हुने भूभागमा मकै तथा धान बाली पाक्न थालेसंगै बर्खेबाली भित्र्याउन किसानहरुलाई अहिले चटारो सुरु भएको छ । यो समयमै पानी परेको हुनाले सिंचाई नभएका र सिंचाई उपलब्ध ठाउँहरुमा बर्खेबाली रामै्र फलेको किसानहरुले बताएका छन् । 

जिल्लाका केही ठाउँहरुमा मकै बालीमा हावाहुरी र जंगली जनावरहरुले नोक्सानी गरेको र धानबालीको भने राम्रै फसल रहेको कृषि विकास कार्यालयले जनाएको छ । धान, मकै, गहुँ, यहाँका मुख्य अन्नबाली हुन् । 

 


प्रतिक्रिया