रुपन्देही डायरी

वैशाख १३, २०७५ | रुपन्देही

आफ्नो नगरलाई बुद्ध जन्मस्थल लुम्बिनीसँग जोड्न रुपन्देहीमा एक दर्जन बढी सडक निर्माण आयोजना सुरु भएका छन् । लुम्बिनी आएका पर्यटकलाई आफ्नो नगरमा लैजान, बसाई अवधि बढाउन र पर्यटनबाट फाइदा लिन गर्न भन्दै सडक निर्माण थालिएको हो । बुद्ध जन्मस्थलको महिमा बढ्दै जाँदा बुद्धका महत्वपूर्ण घटना जोडिएका आसपासका क्षत्रप्रति पनि बौद्धमार्गीको चासो र आकर्षण बढेको छ । यसबाट हौसिएका रुपन्देहीबासीले हरेक नगरलाई लुम्बिनीसँग जोड्ने सडक सञ्जाल सुरु गरेका हुन् । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले लुम्बिनी आउने पर्यटकलाई आसपासका पुरातात्विक स्थलमा लैजान र उनीहरुको बसाँईअवधि बढाउन पनि सडक सञ्जाल बिस्तार थालिएको बताउनुभयो । 

सिंचाईका लागि उपयोग हुँदै आएको ऐतिहासिक सोहछत्तीस नहर सफाईमा तिलोत्तमा नगरपालिकाका युवाहरुले अग्रसरता देखाएका छन् । घरायसी फोहोरका साथै ढल समेत  मिसाएर फोहोर गरिएकाले यो हटाउन उनिहरु ३ सय ६५ दिने अभियान सहित नदी सफाईमा लागेका हुन् । घरबाट निस्कने फोहोर र ढल समेत नहरमा बिर्सजन गरिंदा त्यो सीधै किसानको खेतबालीहरुमा जाने गरेको छ । यसलाई रोक्न युवाहरुले स्वस्फुर्त अभियान थालेको योगी कुटिका युवा अगुवा केशव रोकाले बताउनुभयो ।  

विद्यालयको स्तरोन्नतिका लागि बुटवलको एक विद्यालयले महायज्ञ गर्न लागेको छ । प्रगति आधारभूत विद्यालयले बैशाख २१ देखि २९ गतेसम्म श्रीमतभागवत धनधान्याञ्चल महायज्ञ गर्न लागेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सारुले कक्षा ११ र १२ सम्म पठनपाठन सञ्चालनका लागि महायज्ञको आयोजना गरिएको बताउनुभयो ।  

खोपको सुरक्षित भण्डार गर्न बुटवल उप महानगरपालिकाले खोप भण्डारण केन्द्र स्थापना गरेको छ । आफनो नगरभित्रका  स्वास्थ केन्द्रहरुमा वितरण गर्न सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा केन्द्र स्थापना गरेको हो । यसअघि खोप लिन भैरहवा जानुपर्ने थियो । बुटवलमा ५ वटा नगर स्वास्थ केन्द्र छन् । यस अन्तरगत एक वर्षमा पाँच सय ५२ खोप चरणहरु सञ्चालन हुने गरेका छन । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयका बाल विकास केन्द्रका बालबालिकाहरुलाई दिवा खाजा दिन थालेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यसो गरिएको हो । कक्षा १ देखि ५ सम्मका विपन्न वर्गका विद्यार्थीहरुलाई समेत दिवा खाजा खान टिफिन बक्स समेत उपलब्ध गराउने  प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो । 


प्रतिक्रिया