पाल्पा डायरी

कार्तिक २०, २०७७ | पाल्पा

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने किसानलाई अनुदान दिएको छ । गाउँपालिकाले सबै वडाबाट बाँझो जग्गाको उपयोग गरेर अन्नबाली र फलफूल लगाउने किसानको लगत संकलन गरी अनुदान उपलब्ध गराएको हो । अहिलेसम्म छहरा, जुठापौवा, बल्ढेङगढी र सत्यवतीका ६४ जना किसानलाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताउनुभयो । ४७ जना किसानले बाँझो जग्गामा धान, मकै, कोदो उत्पादन गरेका छन् । १७ जनाले फलफूल सुन्तला, कागती खेती सुरु गरेका छन् । तरकारी तथा फलफूल खेती गर्नेलाई प्रति रोपनी दुई हजार, खाद्यान्न उत्पादन गर्नेलाई प्रति रोपनी तीन हजार रुपैयाँका दरले अनुदान दिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।

जिल्ला अदालत पाल्पामा अघिल्लो आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा सम्बन्ध विच्छेदको घटनामा कमी आएको हो । अघिल्लो आर्थिक वर्षमा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । जसमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएको छ । २०७६/७७ मा भने १ सय ९४ मुद्दा दर्ता भएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनुभयो । जसमा १ सय ४१ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतले जनाएको छ ।

पाल्पाका १४ विद्यालयमा कन्ट्याक्टलेस धारा जडान गरिएको छ । बगनासकाली, रैनादेवीछहरा गाउँपालिकाको शिद्देश्वर, भुवनपोखरी, रिब्दिकोट गाउँपालिकाको ख्याहा, माथागढी गाउँपालिकाको कसेनी, तानसेन नगरपालिकाको बौघागुम्वाका दुई/दुई विद्यालयमा जडान गरेको सामाजिक स्रोत विकास केन्द्र नेपालले जनाएको छ । बगनासकाली गाउँपालिका पोखराथोक स्थित जनता प्राथमिक विद्यालयमा कन्ट्याक्टलेस धारा जडान गरिएको छ । विद्यालयमा पठनपाठन क्रियाकलाप सञ्चालनको समयलाई ध्यानमा राखी सामाजिक दूरी कायम गर्दै खुट्टाको प्रयोग गरी एक पटकमा तीन जनाले हात धुन मिल्ने आयोजक संस्थाका कार्यकारी निर्देशक चोपलाल गिरीले बताउनुभयो ।

पाल्पामा स्थानीय तहका जनप्रतिनिधिले विभिन्न बहाना बनाउँदै कार्यर्कतालाई जागिर खुवाउने थलो बनाएका छन् । कतिपयले स्थानीय श्रोतका नाममा कार्यकर्ता रिझाउन जागिर खुवाएका छन् । १० वटै स्थानीय तहका जनप्रतिनिधि पनि कार्यकर्तालाई जागिर खुवाएका छन् । रामपुर र तानसेन नगरपालिकामा सबै भन्दा धेरै त्यस्ता कार्यकर्ताले विभिन्न बहानामा जागिर खाएका छन् । कार्यकर्ता नभई योग्य, दक्ष कर्मचारीलाई काममा राखिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताउनुभयो । तानसेन नगरपालिकामा सय बढी त्यस्ता अस्थायी र करारमा जागिर खाएका छन् । रामपुर नगरपालिकाले आफ्नै स्रोतमा १ सय ५० बढीलाई जागिर खुवाएको छ । निस्दी, पूर्वखोला, माथागढी, तिनाउ, बगनासकाली, रम्भा, रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकामा पनि विभिन्न बहानामा कार्यकर्तालाई जागिर खुवाएका छन् ।


प्रतिक्रिया