सिन्धुली डायरी

कार्तिक २६, २०७७ | राजकुमार कार्की

सिन्धुलीको सुनकोसी गाउँपालिका–६ मा लकडाउन अघि निर्माण सुरु गरिएका तीन वटा खानेपानी आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । वडामा निर्माणाधिन ६ वटा खानेपानी आयोजना मध्ये निगौरे ओडारे, तुरतुरे र अर्चले खानेपानी आयोजना निर्माण पूरा भई उपभोक्तालाई घरघरमा धारा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन पुर्नलाभ कार्यक्रम सिन्धुली जिल्ला शाखा र सुनकोशी गाउँपालिकाको साझेदारीमा ती खानेपानी आयोजना निर्माण गरिएको हो । सुनकोसी गाउँपालिका–६ अमारेका हेमबहादुर थापा आफ्नो घर अगाडिको धारामा चौबिसै घण्टा खानेपानी आई रहँदा यतिखेर निकै दंग छन् । लकडाउनको समयमा गाउँमा निर्माण सुरु भएको खानेपानी योजना भर्खरै सम्पन्न भई खानेपानीको सुविधा पाएको उनको भनाइ छ । सुुख्खा मौसममा खानेपानीको चरम समस्या झेलेका उपभोक्ताहरुलाई अब भने राहत मिलेको छ । आयोजनाबाट १५८ घर परिवारले स्वच्छ खानोपीको सुविधा पाएका छन् । तीन वटा आयोजना सम्पन्न गर्नका लागि गाउँपालिका, रेडक्रस र उपभोक्ताहरुको श्रमदान सहित एक करोड २८ लाख रुपैयाँ खर्च भएको छ ।

तीनपाटन गाउँपालिकाका तीन वटा वडामा दशकौंदेखि जग्गा भोगचलन गर्दै आएका एक सय जनालाई लालपुर्जा वितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ३ का गाउँ ब्लकका एक सय जनालाई लालपुर्जा वितरण गरिएको हो । नापी कार्यालय प्रमुख सरोज श्रेष्ठका अनुसार २०२८ सालमा नापी भएर वस्ती क्षेत्रलाई एकमुष्ट कित्ता राखेर गाउँ ब्लक गरिएकोमा हाल भोगचलन गरेको आधारमा जग्गा धनीपुर्जा वितरण गरिएको हो । साविक पाटनदेवी, बेलधारी र भिमस्थानमा जग्गा धनीपुर्जा वितरण गरिएको हो । गाउँ ब्लक गरिएको सिन्धुलीमा पाँच सय घरधुरी रहेको र लालपुर्जा क्रमश वितरण गरिने उहाँको भनाई छ । कमलामाई नगरपालिकाको भिमान, रानीवास, मरिण गाउँपालिकाको मरिण र गोलन्जोर गाउँपालिकाको खुर्कोटमा गाउँ ब्लकका जग्गा रहेका छन् ।

सिन्धुलीमा सिजन सुरु हुनु पहिले नै काँचो जुनार बिक्री गर्न गरिंदा व्यवसायिक जुनार खेती गर्ने किसानहरु चिन्तित बनेका छन् । सिजन पहिले नै जुनार बिक्री गर्दा स्वाद अमिलो हुने र त्यसले जुनारको बद्नाम हुने भन्दै व्यवसायिक जुनार खेती गर्ने किसानहरु चिन्तित भएका हुन् । बारीमा पाँच/सात बोट जुनार लगाएका किसानले चाडपर्व लक्षित गरी खर्च जुटाउन सिजन पहिले नै काँचो जुनार बजारमा पुर्‍याई बिक्री गर्ने गरेका छन् । तीनकन्याका किसान बेगबहादुर मगर काँचो जुनार बजारमा पठाउँदा पाकेको जुनार बिक्री गर्न समस्या हुने बताउँछन् । अहिले काँचो जुनार बजारमा प्रतिदाना आठ रुपैयाँ सम्ममा बिक्रीभई रहेको उनको भनाई छ । सिन्धुलीको जुनार कोसेलीको रुपमा देशका विभिन्न सहरमा पुगेर लोकप्रिय रहेको भन्दै उनले काँचो जुनारको बिक्रीले पहिचान गुमाई उल्टै बद्नाम हुने चिन्ता थपिएको बताए । सिन्धुलीमा उत्पादित जुनार सदरमुकाम सिन्धुलीमाढी, काठमाडौं, विराटनगर, तराईका विभिन्न बजारहरु र भारतको सितामाढी हुँदै पटनासम्म निर्यात हुने गरेको किसानको भनाई छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका अनुसार तीनकन्या, रतनचुरा, बाशेश्वर, जलकन्या, मझुवा, दुम्जा, भुवनेश्वरी लगायत ठाउँमा आठ हजार किसानले व्यवसायिक रुपमा जुनारको खेती गर्दै आएका छन् । सिन्धुली जिल्लामा अहिलेसम्म एक हजार ३२५ हेक्टर जमिनमा जुनार खेती हुँदै आएको छ । गत वर्ष जिल्लाम आठ हजार मेट्रिक टन भन्दा बढी जुनार उत्पादन भएको थियो ।

रोग, कीराको प्रकोप र समयमा मल नपाउँदा सिन्धुलीमा यो वर्ष धान उत्पादन घटेको छ । जिल्लामा यो वर्ष १४ हजार ७६४ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकोमा ४२ हजार पाँच सय मेट्रिक टन मात्र धान उत्पादन भएको छ । यो गत वर्षको तुलनमा चार हजार ८१५ मेट्रिक टन कम हो । कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार गत वर्ष १५ हजार तीन सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ४७ हजार ३५१ मेट्रिक टन उत्पादन भएको थियो । धान खेतीको सिजनमा रसायनिक मल अभाव, गवारो, सेते, डढुवा, लगायत रोग कीराको प्रकोपका कारण यो वर्ष धान उत्पादन घटेको ज्ञान केन्द्रका बागवानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । जिल्लामा हाईब्रिड, साबित्री, पोख्रेली, रामधान, मन्सुली, खुमलटार लगायत जातका धान खेती हँुदै आएको छ । सिन्धुलीमा धान उत्पादनका लागि दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, तीनपाटन गाउँपालिका र गोलन्जोर गाउँपालिका उर्बर क्षेत्र मानिन्छ । 


प्रतिक्रिया