तनहुँ डायरी

मंसिर ९, २०७८ | तनहुँ

१) तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाले आँखाको शल्यक्रिया गरेका छन् । नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, गाउँपालिका र नेपाल नेत्रहीन संघ पुन:स्थापना कार्यालय गोरखाको संयुक्त आयोजनामा वडा नम्बर ३ मा तीन दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा दुई सय जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार आँखामा मोतियाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गरिएको थियो ।

२) जिल्ला ट्राफिक कार्यालय तनहुँले चार महिनाको अवधिमा करीब १५ हजार सवारी साधनका चालकलाई कारबाही गरेको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म ट्राफिक नियम विपरीत सवारी साधन चलाउने १४ हजार ९५० सवारी साधनका चालकलाई कारबाही गरेको हो । उनीहरुबाट करीब एक करोड एक लाख ६४ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक डोलिन्द्र बहादुर हमालले बताउनुभयो । कारबाहीमा पर्नेमा अधिकांश मोटरसाइकल चालक छन् ।

३) शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने भएको छ । कृषकले उत्पादन गरेको दूधलाई बजारीकरणमा सहयोग पुर्‍याउन सहकारी संस्थाले शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागेको हो । प्रशोधन केन्द्रको आगामी साउनसम्म सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी स्वरुप निर्माण कार्य अगाडि बढाइएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले बताउनुभयो । उहाँका अनुसार ९९ लाख २९ हजार तीन सय रुपैयाँको लगानीमा केन्द्र सञ्चालन हुँदैछ । गुणस्तरीय दूध, दही, घ्यू, पनिर, आईसक्रिम बनाउने र प्याकेजिङ गर्नलाई आवश्यक यन्त्र उपकरण केन्द्रमा जडान हुनेछ ।

४) जिल्लाको व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नगरपालिकाले जनकदेव र एमएस उन्नत जातका करीब ३३ टन आलुको बीउ वितरण गरेको हो । नगरपालिकाको कृषि शाखा प्रमुख विश्वराज वाग्लेका अनुसार किसानले गतवर्ष उत्पादन गरी चितवनको कोल्ड स्टोरमा भण्डारण गरी राखेको करीब १७ टन र अपुग १६ टन आलुको बीउ त्रिवेणीबाट ल्याइएको हो । नगरपालिकाले कुल २ लाख २० हजार १५० रुपैयाँ ढुवानी खर्च गरेको छ । नगरपालिकाको १४ वटै वडाका कृषकको माग अुनसार वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई आलुको बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।


प्रतिक्रिया