सप्तरी डायरी

भाद्र १५, २०७९

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जादा सप्तरीमा राजनैतिक दलका चुनाव लक्षित गतिविधीहरु तीब्र भएको छ । पछिल्लो समय वडा तहदेखी जिल्लास्तरका कार्यक्रमहरु ह्ुन थालेका छन् । ती कार्यक्रमहरुमा पार्टी प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ । एक राजनैतिक दलबाट अर्कोमा प्रवेश गर्ने अहिले लहर नै चलेको छ । दलहरुले प्रतिनिधी सभा र प्रदेश सभाको सम्भावित उम्मेदवारहरुको नाम समेत सिफारिस गर्न सुरु गरेको छ । प्रतिनिधी र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ ।

राजविराज नगरपालिका १५ स्थित फोहोर प्रसोधन केन्द्र तोकिएको समय भित्र निर्माण हुन सकेन । गत असार २५ गते भित्रै निर्माण सम्पन्न हुने गरि ठेकेदारले नगरपालिकासंग सम्झौता गरेपनि सो अवधि भित्र प्रसोधन केन्द्रको काम सम्पन्न हुन नसकेको हो । नेपालकै पुरानो नगरपालिका मध्येको एक राजविराज नगरपालिकामा फोहोर वर्षौदेखि प्रमुख समस्याको रुपमा रहँदै आएको छ । नगरपालिकाका इन्जिनयर अशोक कुमार दासका अनुसार राष्ट्रिय योजना आयोगको १ करोड ९५ लाख र नगरपालिका समेतको सहयोग गरि राजविराज १५ मा फोहोर प्रसोधन केन्द्र निर्माण गर्न २०७८ साल माघ ६ गते २ करोड ४३ लाख ७२ हजार ४ सय ७९ रुपैयाको टेण्डर भएको थियो । तोकिएको अवधिभित्र काम सम्पन्न हुन नसकेपछि नगरपालिकाले ठेकेदारलाई ६ महिना म्याद थप गरेको छ ।

सप्तरीमा २० वर्ष उमेर नपुग्दै विवाह गर्ने क्रम बढेको छ । उमेर नपुग्दै विवाह गर्दा २० वर्ष मुनीका गर्भवतीको संख्या समेत बढ्न थालेको छ । २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुँदा त्यसको गर्भबाट जन्मिने सन्तान कम तौलका हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १ हजार ४ सय २७ जना २० वर्ष मुनीका गर्भवती भएका थिए । ती गर्भवतीले जन्माएको बच्चा मध्ये ६९ जना १ किलो ५ सय ग्राम भन्दा कम तौलका थिए । २० वर्ष भन्दा कम उमेरमा गर्भबती हुदा उनले बच्चा जन्माउन सकस हुने गरेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजकी स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा दीपा यादवले बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रम अनुसार सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद २०७९ प्रतियोगिताका लागि सप्तरी जिल्ला क्रिकेट टिमको छनोट गरिएको छ । सप्तरी क्रिकेट संघको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा भदौ ९ गते देखि १० गते सम्म पबिमाबि खेलमैदान छनोटका लागि प्रतियोगिताको आयोजना गरिएको थियो । सो छनोट खेलबाट सिनियर पुरूष तर्फ रोहित सिंहको कप्तानीमा १४ सदस्यीय खेलाडी छनोट गरिएको छ । यसैगरी नितु कुमारी चौधरीको कप्तानीमा १४ सदस्यीय जिल्ला महिला क्रिकेट टिमको चयन गरिएको छ ।


प्रतिक्रिया