तनहुँ डायरी

मंसिर १५, २०७९ | तनहुँ

१. तनहुँको म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरिने भएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सशर्त अुनदान रकम अन्तर्गतको स्वारोजगार कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाका रोजगार संयोजकका सदस्य सचिव पविन्द्र शाहीले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा सुनिश्चित भएका बेरोजगारको संख्या २ सय ९५ जना रहेको छ । उनीहरुको प्राथमिकीकरण निर्धारण मार्गदर्शन अनुसार चयन गरिने भएको छ । यस वर्षमा ५६ जनालाई एक सय दिनसम्म गाउँपालिकाले रोजगार दिनेछ ।

२. तनहुँ कारागारका महिला कैदीबन्दीहरुका लागि मानसिक सचेतना कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई लक्षित गर्दै कोसिस नेपाल, सञ्चारिका समूह नेपाल तनहुँ, क्रियाशील पत्रकार महिला तनहुँ, सामाजिक विकास कार्यालय तनहुँ, एकद्वार संकट व्यवस्थापन संयन्त्र सेवा केन्द्रले संयुक्त आयोजना तथा जिल्ला कारागार कार्यालय तनहुँको समन्वयमा मानसिक सचेतना कार्यक्रम आयोजना गरिएको हो । कारागारमा रहेका १४ महिला कैदीबन्दीलाई कोसिस नेपालका मनोविद सीता भण्डारी र आरती अधिकारीले परामर्श दिनु भएको छ । उहाँहरुले विचलन भएको मनलाई व्यवस्थापन गर्ने विधि प्रयोगात्मक रुपमा सहजीकरण गर्नु भएको थियो । कारागारमा रहेका कैदीबन्दीले मानसिक विचलनले गर्दा नै अपराधिक क्रियाकलापमा संलग्न भएर सजायको भागिदार बनेकाले उनीहरुको मानसिकता व्यवस्थापन गर्न सहयोग पुर्‍याउन कार्यक्रम उपलब्धीमुलक बन्ने मनोविद भण्डारीले बताउनुभयो ।

३. तनहुँमा सुन्तला उत्पादन बढेको छ । यस वर्ष मौसमले साथ दिनु, किसानले सानैदेखि बगैंचाको गोडमेल र मलजल गरी स्यारसुसार गरेको हुँदा सुन्तलाको उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार एक हजार ४८० हेक्टर क्षेत्रफलबाट करीब ९ हजार ५ सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यसपटक करीब २८ करोड रुपैयाँको सुन्तला बिक्री हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा भने एक हजार ४६० हेक्टर क्षेत्रफलबाट ९ हजार ३१० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादित सुन्तला बिक्रीबाट जिल्लामा २६ करोड ५० लाख रुपैयाँ भित्रिएको थियो । समुद्री सतहबाट ७ सय मिटरदेखि १२/१५ सय मिटर उचाइका क्षेत्रमा सुन्तला राम्रो उत्पादन भएको छ । जिल्लामा शुक्लागण्डकीको राइपुर, व्यास नगरपालिकाको तनहुँसुर, बेनीकोट, देवघाट गाउँपालिकाको छिपछिपे, बैदी, कोट, भिमाद नगरपालिकाको भानुमती लगायत क्षेत्रलाई सुन्तला खेतीको पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौंबाटै ठेकेदारहरू आएर खरिद गरी लैजाने गर्छन् ।

४. खानेपानीको चरम समस्या भएको व्यासको ग्रामीण क्षेत्रमा पानी पुर्‍याउनका लागि व्यास नगरपालिका–१४ स्थित केशवटारमा एक लाख ८० हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको छ । सरकारको ७ करोड ७८ लाख रुपैयाँ लगानीमा एक घर, एक करेसाबारी कार्यक्रम अन्तर्गत खानेपानी आयोजनाको पानी ट्याङ्की निर्माण गरिएको हो । खानेपानी आयोजना अन्तर्गत गजौदी खानेपानी आयोजनाको दुई वटा ट्याङ्की निर्माण गरिएको वडा सदस्य दुर्गा बहादुर आलेले बताउनुभयो । उहाँका अनुसार तीन वर्षमा सम्पन्न हुने सो आयोजनाबाट सो वडामा रहेको केशवटार, रुम्सी, नयाँ गाउँ, ठीन, हर्कपुर लगायत क्षेत्रका बासिन्दामा पानी वितरण गरिनेछ ।


प्रतिक्रिया