लमजुङ डायरी

पुस २०, २०७९ | लमजुङ

लमजुङका पर्यटकीय गाउँहरु पर्यटकले भरिभराउ भएका छन् । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङ, स्मार्ट भिलेज घलेगाउँ, बेंसीसहर नगरपालिका–३ को काउलेपानी, राइनास नगरपालिका–९ को राइनासकोट लगायत गाउँ पर्यटकले भरिभराउ भएका हुन् । पर्यटक गाउँका होमस्टेमा आउनुका साथै पिकनिक खान समेत आउने गरेका छन् । पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका कार्यालय सचिव दीर्घ घलेले दैनिक डेढ सय पर्यटक आउने गरेको बताउनुभयो ।

दोर्दी गाउँपालिकाका किसानहरु च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । उनीहरुले गाउँपालिकाको सहयोगमा व्यवसायिक रुपमा च्याउ खेती थालेका हुन् ।   कन्ये च्याउको खेती गर्न किसानहरु आकर्षित हुन थालेपछि गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बीउ वितरण गरेको छ । दोर्दी–१ देखि ९ सम्मका किसानले च्याउको धमाधम खेती गर्न थालेको गाउँपालिकाको कृषि प्राविधिक सहायक निराजन पौडेलले बताउनुभयो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले गाउँघरमा उत्पादन गरी उपभोग गर्न सकिने भएकाले ग्रामीण भेगका किसानलाई च्याउको विउ वितरण गरिएको बताउनुभयो ।

मध्य नेपाल नगरपालिका–३ सूर्यपाल र वडा नम्बर–४ रम्घाको चर्दीबजार जोड्ने गरी चर्दीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । पुल निर्माण सकेपछि स्थानीयलाई आवतजावतमा सहज हुने मध्य नेपाल नगरपालिका–३ का अध्यक्ष केशव न्यौपानेले बताउनुभयो । मध्यनेपाल नगरपालिकाका ईन्जिनियर उत्तम सुवेदीले गत जेठमा केबीसी–प्रसाद जेभी चितवनसंग सम्झौता गरेर पुल निर्माणकार्य सुरु गरिएको बताउनुभयो । करीब ३ करोड ७५ लाख रुपैयाँको लागत स्टेमेट रहेको सो पुल २ करोड ५० लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

लमजुङमा पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्दो छ । उपयुक्त हावापानी, चरन क्षेत्र साथै पशुजन्य उत्पादनको मागले पशुपालन व्यवसायमा किसानको आकर्षण बढ्दो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले विदेशबाट फर्किएका साथै विदेश नगएका युवा पनि व्यवसायिक गाइपालन, भैंसीपालन, बाख्रापालन, बंगुरपालन, कुखुरापालन, माछापालन लगायत व्यवसायमा जुटेको बताउनुभयो ।  


प्रतिक्रिया