सप्तरी डायरी

पुस २२, २०७९ | सप्तरी

कीर्ते नागरिकता बनाएको अभियोगमा सप्तरीको डाकनेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मिया पक्राउ परेका छन् । सरकारी लिखत सम्बन्धी कसूर र कीर्ते नागरिकता बनाएको अभियोगमा फरार रहेका मियालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो मृत्यु भईसकेको र भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई सामाजिक सुरक्षा भत्ताको अपचलन गर्दे आएको आरोपमा उनीमाथि मुद्दा चलिरहेको छ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा मिया गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा विजयी भएका थिए । डाकनेश्वरी नगरपालिका–२ मा आर्थिक वर्ष ०७४/७५ देखि ०७७/७८ सम्म ७८ जनाको नाममा कीर्ते कागजात पेश गरी सामाजिक सुरक्षा भत्ता लिएको अभियोगमा वडाध्यक्ष मिया सहित २१ जनाविरुद्ध मुद्दा विचाराधिन छ ।

राजविराज नगरपालिका मातहतको स्वास्थ्य चौकीमा सामान्य प्रकृतिका औषधि समेत अभाव हुँदा बिरामीहरु समस्यामा परेका छन् । नगरपालिकाका अनुसार आर्थिक वर्ष ०७८/७९ मा ३० लाख रुपैयाँ भन्दा बढीको औषधि खरिद भएको भुक्तानी दिई सकिएको छ । तर, औषधिको समस्या जस्ताको तस्तै छ । चालू आर्थिक वर्ष ०७९/८० का लागि राजविराज नगरपालिकाले आफनो स्रोतबाट औषधि खरिदका लागि बजेट नै छुट््याएको छैन । संघीय सरकारको शर्सत अनुदान अन्तर्गत औषधि खरिदका लागि २४ लाख रुपैयाँ बजेट निकासा भएपनि हालसम्म औषधि खरिद नहुँदा समस्या भएको हो ।

भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेसँगै सप्तरीमा पनि शतर्कता अपनाउन सुरु भएको छ । संक्रमण फैलिन नदिन बलान बिहुल गाउँपालिकाको रामनगर कोदरकट्टी र बेल्ही नाकामा हेल्थ डेस्क स्थापना गरी विदेशी तथा नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न थालिएको हो । कोभिड–१९ को नयाँ भेरिएन्टको जोखिमबाट बच्न सीमावर्ती दुई नाकामा हेल्थ डेस्क राखेर परामर्श सहितको सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताउनुभयो । 


प्रतिक्रिया