सुनसरी डायरी

माघ ८, २०७९

सार्वजनिक जग्गा, खोला किनार ऐलानी पर्ति जग्गामा घर बनाएको भन्दै सुनसरीको धरान उपमहानगरपालिकाले अतिक्रमित संरचना भत्काउन डोजर चलाएको छ । धरान ५ अधेरी खोला किनारस्थित मुना चौधरी लिम्बुको घर भत्काएसंगै अतिक्रमति संरचना हटाउन सुरु भएको हो । उपमहानगरले यसअघि सार्वजनिक जग्गामा घर नबनाउन र बनाएमा संरचना भत्काउने सुचना पटक पटक जारी गरेको थियो । यसैवीच घर भत्काउने क्रममा स्थानीयले डोजरमाथि ढुंगा मुढा गरेका छन् । अमानवीय रुपमा सुकुम्बासीको घर भत्काउन नहुने भन्दै पुर्व वडाअध्यक्ष लगायतले विरोध गरेका थिए ।

जिल्लाको धरान उपमहानगरपालिकाले खानेपानीको प्रमुख स्रोत रहेको सर्दु जलाधार क्षेत्रमा टहरा निर्माण गरेर भाडामा लगाउने तयारी गरेको छ । जलाधार क्षेत्रमा मानवीय गतिविधि गर्न नहुने प्रावधान रहेपनि नगरप्रमुख हर्कराज राईले जलाधार क्षेत्रमा होटल सञ्चालनका लागि भाडामा दिने भन्दै टहरा निर्माण गरिरहेको बताउनुभो । धरान–१३ र २० को सिमामा पर्ने बीपी पार्कस्थित जलाधार क्षेत्रमा भएका अव्यवस्थित टहरा हटाई जलाधारको संरक्षण गर्नु पर्नेमा टहरा निर्माण गर्नुलाई स्थानीयले अनौठो मानेका छन् । २४ लाख रुपैयाँ लागतमा टहरा निर्माण भइरहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धव प्रसाद रिजालले जानकारी दिनुभयो ।

सुनसरीको वराहक्षेत्र नगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० को संशोधित पूरक बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । मध्यावधि नगर सभामा १ अर्ब ७ करोड ४२ लाख ४१ हजार रुपैयाँको पूरक बजेट सार्वजनिक गर्दै उपप्रमुख नन्दकुमारी सुनुवारले सो जानकारी दिनुभएको हो । नगर प्रमुख रमेश कार्कर्र्लीे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार भन्ने नारालाई सफल पार्न काम भइरहेको बताउनुभयो । पर्यटन विकासकालागि रामधुनी, चतरा, वराहक्षेत्र, सुर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने काम अघि बढेको नगरपालिकाले जनाएको छ ।

सुनसरीको धरानस्थित विजयपुर क्षेत्रमा १४ औं सदीदेखि १७ औं सदीमा निर्माण भएका ऐतिहासिक पुरातात्विक बस्तुहरु बेवारिस बनेका छन् । विजयपुर क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने भनेर धरान उपमहानगरपालिकाले बेला बेलामा घोषणा गरेपनि ऐतिहासिक, पुरातात्विक बस्तुको संरक्षण गर्न नसक्दा लिम्बुवान र सेनकालिन पुरातात्विक सम्पदाहरु वेवारिसे भएका हुन् । विजयपुर क्षेत्रलाई १४ औं शदीमा विजय नारायणले शासन गरेको इतिहास छ भने, पछि सेन शासकहरुले सम्झौता गरेर अरुण पुर्वका याक्थुङ लिम्बुहरुसंग द्धैध शासन गरेको बताइन्छ ।  


प्रतिक्रिया