संखुवासभा डायरी

माघ १०, २०७९ | संखुवासभा

संखुवासभाका सफल व्यक्तित्वहरु नामक पुस्तकको प्रकाशन गरिएको छ । पाठक धारा टोल विकास संस्था संखुवासभाले प्रकाशन गरेको पुस्तकमा विभिन्न विधामा उच्चता हाँसिल गरेका संखुवासभाका ३१ जना व्यक्तिहरुको जीवनी र दृष्टिकोण समेटीएको छ । पुस्तकमा समेटीएका व्यक्तिहरु संखुवासभाको मात्र नभई सिंगो नेपाल र अन्तराष्ट्रिय छवि बनाउन सफल व्यक्तिहरु छन् । प्रतिनिधिसभाका सांसद दिपक खड्काले पुस्तकमा सम्मिलित व्यक्तीहरु नेपालको विकास र प्रशासनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

चिसोमा बस्दै आएका मनकामना धामका बृद्धबृद्धालाई सदरमुकाम खाँदबारीमा रहेको मकालु बचत तथा ऋण सहकारी संस्थाले न्यायो कपडा वितरण गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्व अर्न्तगत मनकामनाका ३५ जना बृद्धबृद्धालाई जाडोमा लगाउने ज्याकेट, टोपी र विस्कुट वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष सीतादेबी शाक्यले बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले निर्माणका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरु उत्खनन, ओसारपसारमा पछिल्लो समयमा देखिएको समस्या प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पटक पटक नदीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले निर्माण व्यवसायी मारमा परेको संघका महासचिव मिगुर शेर्पाले बताउनु भयो । क्रसर उद्योगहरु निर्माण कार्यको मुख्य सिजनमा पूर्व सूचना विना उत्पादन र ओसारपसारमा रोक लगाउादा त्यसको प्रत्यक्ष असर राष्ट्रिय गौरवका आयोजना लगायत सम्पूर्ण निर्माण कार्यहरुमा परेको व्यवसायीको आरोप छ ।

संखुपासभाका स्थानीय तहमा गठित न्यायिक समितिलाई कानूनी जटिलता र जनशक्ति अभावका कारण काम गर्न समस्या भएको छ । गाउाँपालिका उपाध्यक्ष र नगरपालिका उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिमा कानून र जनशक्तिको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको हो । न्यायिक समितिका संयोजकहरुले प्राविधिक जनशक्ति तथा कानूनको अभावमा पालिकाका न्यायिक समिति न्याय सम्पादन गर्न अन्योल रहेको बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिले कानूनी ज्ञान र जनशक्तिपूर्ति गर्ने बाटो खोलिदिन माग समेत गरेका छन् । 


प्रतिक्रिया