कास्की डायरी

माघ २१, २०७९ | पोखरा

बैंक तथा वित्तिय संस्थाको ‘धरपकड’विरुद्ध पोखराका व्यवसायी संघर्षमा उत्रने भएका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले आन्दोलनको तयारी थालेका हुन् । संघले व्यवसायीको भेलबाट संघर्ष समिति नै गठन गरेको छ । संघका अध्यक्ष पवन प्रजापतिको संयोजकत्वमा समिति निर्माण गरिएको हो । बैंकहरुले जुनै बेला पनि टेलिफोनबाट तनाव दिएको, घरमा परिवारका सदस्यकै अघि धम्क्याउने गरेको, पसलको पैसा नै बोकेर हिँड्ने गरेको भन्दै समिति बनाइएको प्रजापतिले बताउनुभयो ।

चीनले आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौंस्थित चिनियाँ दूतावासलाई आग्रह पत्र बुझाएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनियाँ राजदूत छन सोङलाई लेखेको पत्रमा कोभिड १९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिइएको उल्लेख गरिएको छ । सन् २०२३ मा चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आशावादी भएकै बेला चीनका तर्फबाट सार्वजनिक भएको २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा संघ निरास भएको जनाएको छ । कोभिडसँगै भ्रमण स्थगनको करीब तीन बर्षको अन्तरालपछि चीनले सार्वजनिक गरेको सूची अनुसारको व्यवस्था आगामी सोमबारबाट लागू हुँदैछ ।

पोखरा महानगरपालिकाले घण्टाघर, पुस्तकालय र आर्ट ग्यालरी सहितको ‘पोखरा घर’ बनाउने योजना अघि बढाएको छ । पोखराको पृथ्वीचोकमा रहेको जग्गामा ‘पोखरा घर’ बनाउने योजनाका साथ महानगरले पहिलेको अस्थायी ट्राफिक कार्यालय (गोलघर) को संरचनामा डोजर लगाएको छ । करिब दुई रोपनी क्षेत्रफल रहेको सो स्थानमा महानगरले ‘पोखरा घर’ बनाउनको लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले पोखरा घरमा पुस्तकालय, आर्ट ग्यालरी, सूचना केन्द्र आदि स्थापना गर्ने जनाएको छ । बहुतले पोखरा भवनको पहिलो तलामा पोखरा झल्किने गरेर यस क्षेत्रको सम्पूर्ण जानकारी दिने उद्देश्यसहित सूचना केन्द्र बन्ने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । 


प्रतिक्रिया