ताप्लेजुङ डायरी

फाल्गुन ७, २०७९ | ताप्लेजुङ

ताप्लेजुङमा उत्पादित हरेकजसो कृषि उपजले यो वर्ष अघिल्ला वर्षको तुलनामा राम्रो मुल्य पाएका छन । चिराईतोको मूल्य अहिलेसम्मकै सवैभन्दा वढी प्रतिकिलो एक हजार रुपैंयासम्म प्राप्त गरेका छन्भने अम्रिसोको कुचोको फुल पनि १ सय २० रुपैयाँसम्ममा विक्री भएको छ । पछिल्ला दिन अलैचींको मूल्य पनि ३४ हजार रुपैयाँसम्ममा विक्री भएको व्यवसायीले बताएका छन् ।

लामो समय वर्षा नहुॅदा हरेक जसो हिउॅदेवाली उत्पादनमा हृास आउने भएको छ । असोजपछि वर्षा हुन नसक्ता पानीका मुहान सुक्न थालेका छन् भने सिचाई गर्ने उपाय हुन छोडेको छ । जिल्लाका ६१ मध्ये ६० वटा वडामा खेती गरिने अलैचींको बोटै सुक्न थालेको किसानले बताएका छन । यस्ले किसानमा निरासा छाउनुका साथै अर्को वर्षको गर्जो टार्ने विषयमा पनि चिन्ता सुरु भएको छ ।

२०७८ सालदेखि स्वास्थ्य बिमा प्रराम्भ गरेको जिल्ला अस्पतालले अहिलेसम्मको अधिकांश रकम पाएको छैन । बिमा वापतको ६१ लाख रुपैयाँ पुग्दा जम्मा ५ लाख मात्रै पाएको बताउने अस्पतालले ५६ लाख रुपैयाँ नपाउॅदा फार्मेसी, ल्याब लगायतका सेवा सञ्चालनमा कठिनाई भएको जनाएको छ । रकम प्राप्तिका लागि अस्पताल व्यवस्थापनले संघिय सांसद योगेश भट्टराईलाई गुहारेको छ ।

पालिका स्तरको छनौट नसकिएका कारण जिल्ला खेलकुद विकास समितिले फागुन १० गतेदेखि तोकिएको जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ । पालिकाले छनौट गर्ने र ति खेलाडीकाबीच जिल्ला स्तरिय प्रतियोगिता गरी प्रदेश प्रतियोगिताका लागि सिफारिस गर्ने प्रावधान रहेको छ । माघसम्ममा सक्नुपर्ने भए पनि केही पालिकाले समय मागेपछि केहिदिन धकेलिएको तर मिति यकिन गर्न नसकिएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र लिम्बुले बताउनुभयो । 


प्रतिक्रिया