तनहुँ डायरी

फाल्गुन १४, २०७९

तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित आगामि शैक्षिक सत्रबाट जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् । जनप्रतिनिधिकै छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गरे पनि विद्यालयप्रति अपनत्व बढ्ने र शैक्षिक गुणस्तार शुधारका लागि सबै आ–आफ्नो तरिकाले लागि पर्ने उहाँले बताउनुभयो । यस्तै गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको कार्यक्रम समेत ल्याएको छ । पहिलो चरणमा करिव ५ वटा विद्यालयलाई बस हस्तान्तरण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र ३५ सामुदायिक विद्यालय छन् ।

विद्युत सेवा उपभोग गर्नबाट बञ्चित रहेका तनहुँका ग्रामीण क्षेत्रमा यसै वर्ष विद्युत लाईन विस्तार गरी ‘उज्यालो तनहुँ’ घोषण गर्ने विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीको अभियान अन्तिम चरणमा पुगेको छ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको केन्द्रका इन्जिनियार जनार्धन पौडेलले बताउनुभयो । उहाँका अनुसार अब देवघाट गाउँपालिकाका केही वडामा मात्रै विद्युत् पहुँच पुग्न बाँकी छ । देवघाट–१ को जामुने देउसरामा ७५, वडा नं २ को डिहीमा २०, च्यापिङ्गा ४०, वडा नं ३ को साविडाँडामा २०, क्वादी फस्टेपानीमा ६० घरहरुमा विद्युत् पहुँच पुर्‍याउन बाँकी छ । वितरण केन्द्रको तथ्यांक अनुसार जिल्लामा करिव ४३ हजार विद्युतका ग्राहकहरु छन् ।

जनस्तरकै पहलबाट ट्रयाक खनेको करिव ३१ वर्षपछि बुद्धसिंह मार्ग कालोपत्रे हुन तयारीमा छ । पोखराबाट पृथ्वीराजमार्ग हुँदै चितवन जोडिने यो मार्गको ३४ किलोमिटरमध्ये १० किलोमिटर खण्ड कालोपत्रेका लागि गत भदौं २७ गते ठेक्का सम्झौता भएको पूर्वधार विकास कार्यालय तनहुँका सूचना अधिकारी ई. धनमाया मिश्रले बताउनुभयो । उहाँका अनुसार उक्त खण्ड ३३ महिनाभित्र कालोपत्रे सम्पन्न गर्नुपर्ने गरी मैनाचुली सफल जेवि, काठमाडौंसंग सम्झौता भएको छ । करिव ३४ करोड २७ लाख रुपैयाँमा सम्झौता भएको सो खण्डको कालोपत्रेका लागि चालु आर्थिक वर्षमा संघबाट ७ करोड रुपयाँ विनियोजन भएको छ ।

पर्यटन पूर्वाधारलाई प्राथमिकता दिंदै आँबुखैरेनी गाउँपालिकाले पहरामा भगवानको आकृति कुद्न सुरु गरेको छ । आँबुखैरेनी–२ स्थित पृथ्वीराजमार्गसंगै जोडिएको ऐनापहराको ढुङ्गामा भगवानको आकृति कुद्न थालिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँका अनुसार प्रकृति र झर्नाको पानीसंग रम्नचहाने पर्यटकको गन्तव्यमध्ये एक रहेको ऐनापहरामा पर्यटकलाई थप आकर्षित गर्न पहरामा भगवानका आकृति कुद्न सुरु गरिएको हो । ऐनापहरामा पार्क निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो पार्कको प्रवेशद्वारमा फाइवरको हात्ती, ढुङ्गामा जलपरी, हात्तीको सुढ, बुद्धको मूर्ति, गणेश र महादेव भगवानको मुर्ति, आमाले बच्चा बोकेको मुर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गरिने गाउँपालिकाले जनाएको छ । 


प्रतिक्रिया