गोरखा डायरी

फाल्गुन २४, २०७९ | गोरखा

गोरखाको चुमनुव्री गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ । मन्त्रिपरिषद् बैठकले तत्कालीन जिल्ला पञ्चायत सचिवालय जिल्ला पशु सेवा शाखा कार्यालय गोरखाको नाममा रहेको ४ रोपनी ६ आना २ पैसा २ दाम जग्गा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको उपयोगका लागि स्वीकृत दिने निर्णय गरेको हो । चुमनुव्री–३ सिर्दिवासस्थित फिलमा रहेको जग्गामा भवन निर्माणका लागि स्वीकृत पाएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो । जग्गा अभावमा चुमनुव्री गाउँपालिका भाडाको घरबाट सञ्चालित छ ।

शहिद लखन गाउँपालिकाले प्रत्येक वडालाई पकेट क्षेत्र घोषणा गरी कृषकलाई व्यवसायीक उन्मुख बनाउन प्रयत्न थालेको छ । कृषि र पशुपालनको सम्भावना अध्ययनपछि अघिल्लो वर्ष गाउँ कार्यपालिकाको बैठकबाट प्रत्येक वडालाई पकेट क्षेत्र घोषणा गरिएको थियो । किसानको रुचि, भौगोलिक अवस्था, पशु र खेती प्रणालीको अध्ययनपछि पकेट क्षेत्र घोषणा गरिएको हो । निर्वाहमुखी खेती र पशुपालनबाट निराश किसान पकेट क्षेक्र घोषणा गरी कार्यत्रम सञ्चालन गर्दा हौसिएको गाउँपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले बताउनुभयो । संघ प्रदेश र स्थानीय तहबाट कृषि र पशुपालनमा आएका योजना, अनुदान तथा कार्यक्रम गाउँपालिकाले पकेट क्षेत्र अनुसारका गाउँमा केन्द्रित गरेर संचालन हुँदै आएको छ ।

बारपाकसम्मको सडक कालोपत्रेका लागि म्याद नाघेको चार वर्षसम्म काम पूरा हुन सकेको छैन । कालोपत्रेको जिम्मा पाएको ठेकेदारको लापरबाहीका कारण समयमै काम नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । २०७५ असार भित्रै सक्नुपर्ने २२ देखि ३० र ३० देखि ४६ किलोमिटरको दुई खण्डको म्याद सकिएको चार वर्षसम्म पनि काम सम्पन्न नहुँदा यात्रु सास्ती भोग्न बाध्य छन् । २२ देखि ३० किलोमिटर खण्ड कालोपत्रेको म्याद सकिएको पाँच वर्ष सकिन लाग्दा प्रतिशत मात्र काम सकिएको छ । बालुवा–बारपाक खण्डको ३० देखि ४६ किलोमिटर क्षेत्रमा २०७५ असार १३ भित्रै सक्नुपर्ने सडकको म्याद सकिएको चार वर्ष बित्दा जम्मा ७० प्रतिशत मात्र सकिएको छ ।

चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा आगामी बैशाख ६ देखि ९ सम्म श्याग्या (अहिंसा) महोत्सवको तयारी गरिएको छ । अहिंसा क्षेत्र घोषणा भएको एक सय वर्ष पुगेको अवसरमा महोत्सवको आयोजना गर्न लागिएको हो । चुम उपत्यकालाई १९७७ सालको बुद्ध जयन्तीको अवसरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो । एक सय वर्ष अघि अवतारी डुक्पा लामा सेराप दोर्जेले आफ्नो तमोभूमि चुम उपत्यकामा अहिंसा सिद्धान्तको पालना गर्न सामूहिक प्रतिवद्धताका लागि सम्भोटा लिपिमा लेखिएको अहिंसा सम्बन्धी प्रतिवद्धताको लिखित निर्णयमा समुदायका सवैलाई हस्ताक्षर गरी प्रतिवद्धता जनाएका थिए । त्यसयता यस क्षेत्र अहिंसा क्षेत्रको रुपमा परिचित छ । प्राकृतिक र संस्कृतिक संरक्षणका रुपमा प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको श्यागा महोत्सव मुल समारोह समितिका संयोजक निमा लामाले बताउनुभयो ।  


प्रतिक्रिया