बारा डायरी

फाल्गुन ३०, २०७९ | बारा

बाराको कोल्हवी नगरपालिका–५ का वडा अध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालय सिमराले नियन्त्रणमा लिएको छ । कोल्हवी–५ स्थित वन फँडानी गरेको अभियोगमा वडाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको डिभिजन प्रमुख विनोद सिंहले बताउनुभयो । जंगल फाँडेको सूचना पाएपछि डिभिजन वन प्रमुख सिंहको नेतृत्वमा गएको टोलीसँग वडाध्यक्ष चौधरीले प्रतिवाद गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो । वृक्षारोपण गरिएको सो ठाउँ अतिक्रमण गर्ने मनशायले वन फाँडिएको गरेको पाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कलैया उपमहानगरपालिकाको श्रीपुरस्थित रिलायन्स चिनी उद्योग ढिलो गरी सञ्चालन भएकोले किसानको उखु लिन सकेका छैनन् । उद्योग प्रशासनले १० मात्र उखु क्रसिङ हुन सक्ने लगत संकलन गरेपछि उखुको दैनिक क्रसिङ क्षमता घटाएर उद्योग सञ्चालन गरेको थियो । दैनिक ३० हजार क्वीन्टल उखु क्रसिङ गर्न सक्ने क्षमता भएपनि त्यसलाई घटाएर दैनिक २४ क्वीन्टल उखु क्रसिङ गर्नसक्ने उपकरण जडान गरिएकाले उखु अझै खेतमै असरल्ल परेको हो । उखु किसान हकहित संघर्ष समितिका संयोजक इन्द्रदेव कुसवाहाले १५ लाख क्वीन्टल उखु क्रसिङ भएपनि अझै साढे २ लाख क्वीन्टल उखु क्रसिङ हुन बाँकी रहेको बताउनुभयो ।

बाराको चारकोसे जंगल छेउमा केही सातादेखि हात्तीले आतंक मचाएको छ । यही क्रममा गत साता जीतपुर–सिमरा उपमहानगरपालिका १६ टाँगियाबस्तीमा हात्तीको आक्रमणमा परि ४५ वर्षीय गापाङ दर्लामी मगरको मृत्यु भएको छ । उनको मृत्युपछि जंगल आसपासका बस्तीका स्थानीयहरु त्रसित भएका छन् । हात्ती नियन्त्रण गर्न सरोकारवाला निकायले चासो नदिएपछि आक्रोसित स्थानीयले ककडी रेन्ज पोष्टमा आक्रमण गरी क्षति पुर्याएका छन् । ७ बर्षयता बस्तीका ६ जनाको हात्तीले ज्यान लिइसकेको स्थानीय समाजसेवी रमेश सापकोटाले बताउनुभयो ।

एक उपमहानगर सहित चार पालिकाका लागि सरुवा भई आएका उपसचिवमध्ये दुई वटा पालिकामा २ जना उपसचिव हाजिर नै नभई फिर्ता भएका छन् । कोल्हवी र सिम्रौनगढ नगरपालिकाका लागि सरुवा भई आएका उपसचिवद्वय हाजिर नै नभई फिर्ता भएका हुन् । सिम्रौनगढ र कोल्हवीका लागि सरुवा भई आएका क्रमशः विष्णुभक्त सिग्देल र सञ्जय पोखरेल हाजिर नै नभई फिर्ता भएका हुन् । जीतपुर–सिमरा उपमहानगर र निजगढ नगरपालिकामा भने सरुवा भई आएका उपसचिवद्वय हाजिर भएका हुन् । जीतपुरसिमरा उपमहानगरपालिकाको लागि चेतकुमार पोखरेललाई सरुवा गरी उनको ठाउँमा हरिलाल पुरीलाई संघीय मामिला तथा प्रशासन मन्त्रालयले सरुवा गरी पठाएकोमा पुरी हाजिर भएका हुन् । यसैगरी निजगढ नगरपालिकामा राजमणी निरौलालाई सरुवा गरी पठाएकोमा उनी पनि हाजिर भएका हुन् । 


प्रतिक्रिया