सिन्धुली डायरी

चैत्र ६, २०७९ | काठमाडौं

तत्काल पुल निर्माणको काम सुरु गर्ने सहमतीपछि सिन्धुलीको फिक्कल गाउँपालिकाका स्थानीयले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । गाउँपालिकामा आज स्थानीय, ठेकेदार र पालिकाका प्रतिनिधिबीच वार्तापछि सहमती भएको हो । स्थानीयले चारदिन अघिदेखि मध्येपहाडी राजमार्ग अन्तर्गत फिक्कल गाउँपालिका ६ सोखुखोलामा निर्माणाधिन पक्की पुल छिटो सम्पन्न गर्न दबाब दिन भन्दै दैनिक सडकमा चक्काजाम गर्दै आएका थिए । पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले बीचमै अलपत्र पारेपछि सो ठेक्का तोडेर वाइपी विकास एण्ड ब्रंदर्श र आत्रेय जेभीले तीनवर्ष अघि निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

यसवर्षको एसइइ परिक्षामा सिन्धुलीका ५ हजार २ सय ४१ विद्यार्थी सहभागि हुने भएका छन् । नियमित तर्फ ५ हजार २३ जना, नियमित प्राबिधिक तर्फबाट १ सय ७७ र ग्रेडबृद्धि तर्फबाट ४१ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । सिन्धुलीमा गतवर्ष ५ हजार ७ सय ८७ जना विद्यार्थी एसइइ परिक्षामा सहभागी भएका थिए । चैत्र १७ गते बाट सुरु हुने माध्यमिक परिक्षा एसइईको लागि जिल्लाभर २६ वटा परिक्षा केन्द्र तोकिएको छ । जिल्लाभरका १ सय ४९ वटा बिद्यालयबाट ती विद्यार्थी सहभागी हुन लागेका हुन् ।

सिन्धुलीमा राष्ट्रिय विद्युत प्रशारण लाईनको विस्तारसँगै लघु जलविद्युत परियोजनाहरु विस्थापित हुन थालेका छन् । नेपाल विद्युत प्राधिकरण, स्थानीय सरकार र विश्व बैंकले जिल्लाका विभिन्न भागमा राष्ट्रिय विद्युत प्रशारण लाईन बिस्तारलाई तीब्रता दिएसँगै लघु जलविद्युत योजनाहरु बिस्थापित भएको स्थानीयले बताएका छन् । मर्मत संम्भार खर्चिलो हुने र प्राविधिक समेत नहुने भएकाले लघु जलविद्युत योजनाहरु विसथापीत हुने अवस्थामा पुगेका हुन् । जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरका अनुसार विश्व बैंकको सहयोगमा पालिकाको ११ वटै वडामा विद्युत बिस्तार भइरहेको छ ।

सिन्धुलीका स्थानीय तहले गर्भवतीलाई गाउँमै स्वास्थ्य जाँचको सुविधा दिन थालेका छन् । मातृशिशु सुरक्षाका लागि गर्भवतीलाई गाँउमै स्वास्थ्य जाँचसहितका सुविधा उपलब्ध गराउन थालिएको स्थानीय तहले जनाएका छन् । मरिण गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मदुसुधन लाखेका अनुसार गर्भवतीको स्वास्थ्य जाँचका लागि पालिकाका नौ वटा स्वास्थ्य संस्था र तीन वटा बर्थिङ सेन्टरबाट सुविधा उपलब्ध गराएको छ । प्रोटोकल अनुसार स्वास्थ्य जाँच गराई बर्थिङ सेन्टरमा सुत्केरी गराउने गर्भवतीलाई सो पालिकाले यातायात खर्च बापत दुई हजार र आउन जान तथा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउन थालेको छ ।


प्रतिक्रिया