जुम्ला डायरी

चैत्र २०, २०७९ | जुम्ला

जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर–५ मा उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको छ । केही वर्षदेखि विद्यालय, गाउँबस्ती र टोलटोलमा सडक नाटक फ्रदर्शन तथा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको वडाले आइतबार बालविवाह मुत्त वडा घोषणा गरेको हो । बालविवाह मुक्त वडा घोषणा गरेसंगै अब विवाह गर्दा अनिवार्य वडाको सिफारिस लिनुपर्नेछ । वडाको सिफारिस विना गरिने विवाह स्वत खारेजी हुने वडा अध्यक्ष दत्तबहादुर बुढाले बताउनुभयो ।

आगामी बैशाख ११ गते कर्णालीमा चौथो पटक जुम्ला रारा अल्ट्रा म्याराथन २०८० हुने भएको छ । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन हुँदै आइरहेको छ । जुम्ला रारा अल्ट्रा म्याराथन कर्णाली स्पोट्स क्लबले आयोजना गर्न लागेको हो । कर्णाली स्पोट्स क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्व बारे दर्शाउन र समग्र समाजमा खेल संस्कृतिको विकास गराउन म्याराथनको निकै ठुलो भूमिका हुनेमा जोड दिनुभयो । म्याराथनमा प्रथम हुनेले एक लाख, द्धितियले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वना र पाचौं हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउने क्लबले बताएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित बाल मन्दिर प्राथमिक विद्यालय विद्यार्थीको अभावमा संकटमा परेको छ । हाल सो विद्यालयमा दुई शिक्षक र छ जना विद्यार्थी मात्रै छन् । पाँच कक्षासम्म सञ्चालित यस विद्यालयमा चालू शैक्षिक सत्रमा जम्मा दश विद्यार्थी भर्ना भएकोमा संख्या घटेर जम्मा ६ जनामा सीमित भएको हो । उनीहरु पनि बाल विकास केन्द्रका विद्यार्थी हुन् । अन्य कक्षामा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । विद्यालयका प्रधानाध्यापक पार्वती पौड्यालले न्यून संख्यामा भर्ना भएका विद्यार्थी पनि विद्यालयमा नआउने गरेको बताउनुभयो ।अभिभावक निजीतिरै आकर्षित भएकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुन गएको उहाँको भनाइ थियो ।

मुलुककै पहिलो कर्णाली प्राविधिक शिक्षालय पछिल्लो समय आर्थिक अभावले थलिएको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न स्थापित भएको कर्णाली प्राविधिक शिक्षालय आर्थिक संकटमा पुगेसँगै जीर्ण बन्दै गएको हो । २०३७ सालमा मुलुककै जेठो शिक्षालयका रुपमा स्थापित भएको शिक्षालय अहिले तीन तहकै सरकारको आँखामा पर्न सकेको छैन । स्थानीय तह र प्रदेश सरकार भने आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भन्दै पन्छिन खोजेका छन् । संघीय सरकारको नजर शिक्षालयसम्म पुग्नै नसमेमने शिक्षालय प्रमुख टेकेन्द्र थापाले बताउनुभयो ।


प्रतिक्रिया