जोखिमकाबीच प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदै

जेष्ठ १२, २०७७ | हेटौंडा

कोरोना संक्रमण जोखिमका बीच वाग्मती प्रदेशसभाको अधिवेशन आज सुरु हुदैछ । प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेका लागि आव्हान भएको हो । 

स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधासम्बन्धी संशोधित विधेयक पारित गरेर २०७६ चैत ६ गते प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भएको थियो । कोरोना भाइरस संक्रमणलाई रोक्नका लागि देशमा जारी लकडाउनको समयमा बस्न लागेको यस वैठक लगातार पाँचदिनसम्म सञ्चालन गर्ने तयारीमा रहेको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

अधिवेशन सुरु हुनु पूर्व बस्ने कार्यव्यवस्थ परामर्श समितिले सो बारे निर्णय गर्ने सभामुख श्रेष्ठको भनाई छ । आगामी आर्थिक वर्ष २०७७/०७८ प्रिबजेट छलफल, नीति तथा कार्यक्रम र त्यसमाथि उठेको प्रश्नको जवाफ सरकारको तर्फबाट दिने गरी बैठक सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख श्रेष्ठका अनुसार बैठक सञ्चालनका लागि प्रदेशसभा भित्र व्यक्तिगत दुरी कायम गर्ने गरी सांसदहरुका लागि कुर्सी राखिएको र सांसद्हरुको पीसीआर विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, ‘कोरोनाको उच्च जोखिमको वीच हुन लागेको बैठकमा हामीले सवै प्रकारको सावधानी अप्नाएका छौं ।’

लकडाउनकै समयमा प्रदेशसभामा दर्ता भएको प्रहरीसम्बन्धी विधेयकमाथि बजेट अधिवेशनमा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा अहिले तीन वटा विधेयक छलफलको क्रममा रहेको छ । 

प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक तथा प्रदेश युवा परिषद् गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफलको क्रममा विभिन्न समितिमा रहेको छ । 


प्रतिक्रिया