चितवनमा १३२ केभी सब-स्टेसन निर्माण सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

श्रावण ११, २०७७ | काठमाडौं

चितवनको पूर्वी क्षेत्रमा १३२/३३/११ केभीको सब–स्टेसन निर्माण सम्पन्न भएको छ । चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन चितवनमा सब–स्टेसन निर्माण गरिएको हो ।

निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटौंडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई चितवनको सब–स्टेसनमा जोडेर सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । 

हेटौंडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई त्यस क्षेत्रमा आपूर्ति गर्न चितवनमा सबस्टेसन निर्माण गरिएको हो । सब–स्टेसन राखिएका १३२/३३ केभी, ३० एमभीएका दुई वटा पावर ट्रान्सफर्मर मध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब त्यसलाई लोड दिएर चार्ज गरिने उहाँले बताउनुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत आपूर्तिका लागि ३३/११ केभी, १६ दशमलव ६ एमभीए पावर ट्रान्सफर्मर आइतबार चार्ज गरिएको छ, सबस्टेसन स्वचालित प्रणालीको सञ्चालन र ११ केभी फिडरबाट एक हप्ताभित्र विद्युत वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

उहाँले सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चुहावट करीब ४/५ प्रतिशत घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो, पर्याप्त विद्युत पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने बताउनुभयो ।

अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करीब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सबस्टेसन मार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत आपूर्ति भइरहेको छ । लामो लाइन र क्षमताले नधान्दा लाइन चुाडिने, ट्रिपिङ हुने, लो भोल्टेज र विद्युतको प्राविधिक चुहावटको समस्या थियो । चितवनको पूर्वी क्षेत्रको सबस्टेसनबाटै विद्युत आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुने छ ।

सरकाको लगानीमा राप्ती नगरपालिका–६ हर्दीमा सबस्टेसनको निर्माण भएको हो । सो आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर रहेको छ । आर्थिक वर्ष २०७२/०७३ मा सुरु भएको सो आयोजना गत चैतभित्रमा सञ्चालन गर्ने लक्ष्य राखिएको भएपनि कोरोना महामारीका कारण केही ढिला भएको हो । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेसनसम्म करीब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ । 


प्रतिक्रिया