निषेधाज्ञाले पर्सा र बारा करिडोरका उद्योग सञ्चालन भएन

श्रावण १८, २०७७ | पर्सा

कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाले पर्सा–बारा औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ । पर्सामा साउन १० देखि र बारामा आइतबार देखि निषेधाज्ञा लगाइएको छ । दुबै जिल्लामा कोरोना संक्रमण र संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

मुलुककै सर्वाधिक ठूलो सो औद्योगिक करिडोरका अधिकांश उद्योग पर्सा र बाराको सीमा क्षेत्रमा रहेका छन् । अधिकांश स्थानमा त्रिभुवन राजपथले दुबै जिल्लाको सिमाना छुट्टिएको छ । निषेधाज्ञाको कारण उद्योगका मजदुर र व्यवस्थापकलाई समेत आवागमनमा समस्या भएको छ ।

अखिल नेपाल ट्ेरड युनियन महासंघ बाराका अध्यक्ष बेनी प्रसाद तिमिल्सेनाले आइतबारदेखि सिमरास्थित हुलासस्टिल उद्योग बन्द भएको बताउनुभयो । जगदम्बा स्टिल भने उद्योग वरपर बस्ने तथा उद्योग भित्रै केही मजदुरलाई बसाएर सञ्चालन गरिएको छ । रामपुरटोकनीस्थित बहुराष्ट्रिय कम्पनी डाबर नेपाल आइतबार देखि १२/१२ घण्टाको २ सिफ्टमा चलाएको छ । यसअघि ८/८ घण्टाको ३ सिफ्टमा चलाएको थियो ।

सिमरास्थित अर्काे बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल साउन ११ देखिनै बन्द छ । उद्योग व्यवस्थापनले साउन २३ सम्मका लागि उद्योग बन्द गरेको हो । यसअघि सिमरास्थित जगदम्बा इन्टरप्राइजेज पनि सिल भई सकेको छ । उद्योगका सीइओ देखि केही मजदुरमा कोरोना संक्रमण देखिएपछि उद्योग सिल गरिएको हो । सो उद्योगका सीइओ मेवालाल शर्माको गत साता उपचारको क्रममा वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा मृत्यु भएको थियो । 

मजदुरमा कोरोना संक्रमण देखिएपछि परवानीपुरस्थित मारुती औषधि उद्योग पनि सिल भई सकेको छ । करिडोरका धेरै उद्योगमा भारतीय मजदुर कार्यरत रहेको र लकडाउन खुलेपछि उनीहरु काममा फर्किएसँगै उनीहरुमा धमाधम कोरोना संक्रमण देखिन थालेको हो । उनीहरुकै कारण नेपाली मजदुरहरुमा पनि संक्रमणको जोखिम बढेको छ । गणपति घिउ, राजेश मेटल, भगवती स्टिल जस्ता उद्योग भने सन्चालनमा रहेपनि सोमबार देखि आवागमनमा समस्या भएर ती उद्योग पनि प्रभावित हुने निश्चित रहेको तिमिल्सेनाले बताउनुभयो ।

यसअघि करिडोरको अर्को ठूलो उद्योग त्रिवेणी स्पिनिङ्ग रोटेशन प्रणालीमा चल्दै आएकोमा अब त्यो पनि प्रभावित हुने सम्भावना रहेको उहाँको भनाई छ । कुल १ हजार २ सय मजदुर मध्ये ४ सय मजदुरले १० दिन काम गर्ने र २० दिन घर बस्ने गरी रोटेशन मिलाएकोमा अब आवागमनमै समस्या हुने भएकाले उद्योग सञ्चालनमै समस्या हुन सक्ने उहाँले बताउनुभयो ।

यसअघि ४ महिना लामो लकडाउनको अविधमा करीब ३ महिना करिडोरका खाद्यान्न, प्याकेजिङ्ग र औषधि बाहेकका अधिकांश ठूला साना उद्योग बन्द प्राय: रहेका थिए । सरकारले उद्योग चल्न दिने घोषणा गरेसँगै न्ूुनतम मजदुरलाई खटाएर उद्योग सञ्चालन गरिएको थियो । त्यसमा पनि स्थानीय बासिन्दा तथा जनप्रतिनिधिले अवरोध गरेका थिए । यस बाहेक कच्चा पदार्थ अभावका कारण कतिपय उद्योगहरु पनि पूर्ण क्षमतामा सञ्चालन भएका थिएनन् ।


प्रतिक्रिया