कृषिमा वैदेशिक लगानी बारे स्पष्ट हुन सरकारलाई सांसदहरुको सुझाव

चैत्र २२, २०७७ | काठमाडौं

सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने तयारी गरेपनि त्यसका लागि प्राथमिकताको क्षेत्र निर्धारण नगरेको सांसदहरुले बताएका छन् । 

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले कृषिमा वैदेशिक लगानी भित्र्याउन अनुमति दिने तर कुन क्षेत्रमा लगानी ल्याउन लागिएको हो भन्ने बारे सरकार स्पष्ट हुनुपर्ने सुझाएका छन् । 

समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषि क्षेत्रमा विदेशी लगानी आउनु सकारात्मक भएपनि कुन–कुन क्षेत्रमा लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताउनुभयो । 

सांसद अमृतादेवी अग्रहरीले उत्पादन बढाएर निर्यात गर्नका लागि नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताउनुभयो । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव पेमनारायण कँडेलले नेपालको प्राथमिक उत्पादनलाई असर नपर्ने गरी कृषिमा विदेशी लगानी भित्र्याउनु पर्ने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले वैदेशिक लगानीको आवश्यकता देखिएको बताउनुभयो । कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ ।


प्रतिक्रिया